नयाँ वर्षमा सौगात, विपिन र सृष्टि स्टारर ‘द रेड सुटकेस’

नयाँ वर्षमा सौगात, विपिन र सृष्टि स्टारर ‘द रेड सुटकेस’

द सिनेमा टाइम्स
189
Shares

द सिनेमा टाइम्स, काठमाडौं – विश्वका विभिन्न प्रतिष्ठित सिनेमा महोत्सवमा प्रदर्शन भैसकेको ‘द रेड सुटकेस’को नेपाल प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टिमले अंग्रेजी नयाँ वर्षको अवसर पारेर पोस्टर सार्वजनिक गर्दै सिनेमा चैत ३० मा प्रदर्शनमा ल्याउने जानकारी गराएको हो ।

फिडेल देवकोटाले निर्देशन गरेको सिनेमाको कथा वाचन मिथक, नेपालको आप्रवासी परम्परा र नियतिलाई पृष्ठभूमिमा राखेर गरिएको छ । सेप्टेम्बरमा भेनिसमा वर्ल्ड प्रिमियर भएको सिनेमाले त्यही महोत्सवमा महत्वपूर्ण दुई अवार्ड जितेको थियो । त्यसयता सिनेमा संसारकै पुरानोमध्ये एक मानिने जर्मनीको म्यानहाइम हाइडेलवर्ग इन्टरनेसनल सिनेमा फेस्टिभल, स्विजरल्यान्डको जुरिच सिनेमा महोत्सव, भारतको मुम्बई सिनेमा महोत्सवमा छनौट भएको थियो ।

निर्माता रामकृष्ण पोखरेलले विदेशी दर्शकबाट सिनेमाले प्रशस्त माया पाएको र घरेलु दर्शकबाट सोही स्तरको मायाको अपेक्षा गर्दै सिनेमा प्रदर्शन गर्ने निर्णयमा पुगेको बताए । निर्देशक फिडेल देवकोटाले सिनेमाको प्रदर्शन ‘होमकमिङ’ जस्तै रहेको बताए ।

‘सुरुमा सिनेमा बनाउँदा यो कथा विश्वले हेर्नुपर्छ भन्ने लागेको थियो । त्यो सपना साकार भयो । अब चाहिँ यो कथा घर फर्किएको छ,’ उनले भने, ‘यो सिनेमा समसामयिक समाजको ऐना पनि हो । यसले हाम्रो समयको सबैभन्दा ठूलो सामाजिक यथार्थलाई उठाएको छ । प्रदर्शनपछि यसमा बहस पनि छेडियोस् भन्ने मेरो आग्रह छ ।’

सिनेमाले भेनिसमा फन्डापजियोनी फाई पर्सना लाभारो एम्बिएन्टेजमा अनरेबल मेन्सन अवार्ड पाएको थियो भने स्वतन्त्र समीक्षकहरुको जुरीले बिसाटो डिओरो अन्तर्गत डेब्यु सिनेमा निर्देशकको रुपमा निर्देशक फिडेल देवकोटालाई बेस्ट फर्स्ट फिचर सिनेमाको अवार्ड जिताएको थियो । सिनेमाले श्रीलंकामा हालै सम्पन्न जाफ्ना इन्टरनेसनल सिनेमा महोत्सवमा पनि बेस्ट डेब्यु फिचर सिनेमाको अवार्ड जितेको हो ।

फिडेलकै लेखन रहेको सिनेमामा सौगात मल्ल, विपिन कार्की, प्रविन खतिवडा, सृष्टि श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । सुशन प्रजापतिको छायांकन रहेको सिनेमालाई समन अलभितिगाले सम्पादन गरेका हुन् । श्रीलंकामा प्राविधिक काम गरिएको सिनेमामा शोभा थापा निर्माता र श्रीलंकाकै विमुक्ति जयसुन्दरा सह-निर्माताको रुपमा रहेका छन् ।