सन्तानको लागि बावुआमा भगवान हुन भन्ने सन्देश ‘चित्रा’बाट दिन खोजेको छु : घनश्याम लामिछाने

सन्तानको लागि बावुआमा भगवान हुन भन्ने सन्देश ‘चित्रा’बाट दिन खोजेको छु : घनश्याम लामिछाने

द सिनेमा टाइम्स
91
Shares

द सिनेमा टाइम्स, काठमाडौं – पौष २७ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘चित्रा’को निर्माण टिमले बिहीबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेका छन् । सिनेमाको बुधबार सार्वजनिक ट्रेलरले दर्शकमाझ कौतुहल्ता जगाउन सफल भएको भन्दै निर्देशक घनश्याम लामिछानेले खुशी व्यक्त गरे ।

उनले सिनेमा पारिवारिकसँगै साथित्वको कथामा आधारित रहेको बताए । ‘यो सिनेमा बाबु र छोरीसँगै फ्रेन्डसिपको कथा हो । परिवार र साथीको कथा भन्छ’, निर्देशक लामिछानेले भने । परिवारको उतारचढावको कथा भन्ने ‘चित्रा’ महिलाबादी सिनेमा पनि भएको उनको भनाई छ ।

पत्रकार भेटघाट कार्यक्रममा पत्रकारले निर्देशक लामिछानेलाई तपाईले पितालाई सन्तानका लागि भगवान नै देखाउनु भयो नी ? जवाफमा उनले आफुले ‘चित्रा’मा सन्तानको लागि बावुआमा भगवान नै हुने हुँदा त्यही सन्देश दिन खोजेको बताए । ‘मेरो लागि पनि मेरा बुवा आमा भगवान नै हुन । आफुलाई लागेको कुरालाई नै सिनेमाको पर्दामा देखाउन लागेको हुँ,’ उनले भने ।

‘यसअघि म आर्टिस्टिक सिनेमा बनाउँदै आएको थिएँ । यो पटक मेनस्ट्रिम सिनेमा बनाउँदै छु’, उनी भन्छन्, ‘मेरा यसअघिका सिनेमा नाटकजस्ता भए भन्ने गुनासो पनि आयो । नाटक अब नाटक घरमै बनाउँछु, अहिले चाहिँ हलमा सिनेमा नै देखाउँ भनेर लार्जर देन लाइफ सिनेमा बानाएको छु ।’

सिनेमामा सन्तोष अधिकारी, अर्पण थापा, प्रमोद अग्रहरी, मेनुका प्रधान, प्रकाश घिमिरे, शुभेच्छा खड्का, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दिपेश गजुरेल लगायतका कलाकारको अभिनय छ । यही सिनेमाबाट सन्तोषले नेपाली रजतपटमा अभिनेताको रुपमा डेब्यू गर्दैछन् ।

बाबुछोरीको कथा बोकेको ‘चित्रा’लाई सम्भावना बोकेको सिनेमाको रुपमा हेरिएको छ । सिनेमाको निर्माता आशिष थापा मगर हुन् भने सन्तोष अधिकारी कार्यकारी निर्माताको रुपमा रहेका छन् । अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको सिनेमामा राजनराज शिवाकोटीको संगीत छ ।

सन्तोष अधिकारी फिल्म्स तथा अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको ब्यानरमा निर्माणमा भएको सिनेमाको महेश पौडेलले छायांकन, बनिष शाह र सन्देश शाहको सम्पादन, शैलेश श्रेष्ठको पाश्र्व संगीत छ । नेपालभरको वितरण केदार पराजुलीको श्री कृष्ण फिल्म्सले लिएको सिनेमाको अष्ट्रेलिया रिलिज अधिकार अविनास रोका मगरले किनेका छन् ।