हिरोइन बन्ने बाल्यकालको सपना पुरा गर्न पाउँदा खुशी छु : रक्षा बुढाथोकी

हिरोइन बन्ने बाल्यकालको सपना पुरा गर्न पाउँदा खुशी छु : रक्षा बुढाथोकी

द सिनेमा टाइम्स
98
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक दीपक श्रेष्ठले आफ्नो २७ औं निर्देशकीय सिनेमा ‘पर्खि बसें तिमीलाई’ आगामी पुस २७ गते प्रदर्शन हुँदैछ । माघेसंक्रान्ति लक्षित गर्दै प्रदर्शन गरिने सिनेमामार्फत अभिनेता किरण श्रेष्ठ र अभिनेत्री रक्षा बुढाथोकीले मुख्य भूमिका निर्वाह गर्दैछन् ।

शनिवार साँझ राजधानीमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक श्रेष्ठ, अभिनेता श्रेष्ठ र अभिनेत्री बुढाथोकीसँगै निर्माता राजाराम बुढाथोकी, संगीतकार महेश खड्का, गीतकार डाक्टर कृष्णहरी बराल, गायक प्रमोद खरेल, वितरक करण श्रेष्ठ लगायत उपस्थित थिए ।

सिनेमाको पत्रकार भेटघाट कार्यक्रममा निर्देशक श्रेष्ठले २७ औं सिनेमा निर्देशन गर्दासम्मको अनुभव सुनाएका थिए । अभिनेता श्रेष्ठ पनि मण्डला नाटकघर हुँदै सिनेमासम्मको यात्राको अनुभव साटका हुन् । उनले सातवर्षमा तेह्र नाटकमा अभिनय गरिसकेका छन् ।

यो सिनेमाबाट मुख्य अभिनेत्रीको रुपमा काम गर्दाको अनुभव अभिनेत्री बुढाथोकीले साटिन । बाल्यकालदेखि नै सिनेमा प्रतिको लगावलाई मुर्तरुप दिन पाएकोमा खुसी व्यक्त गरिन् । मेरो अभिनयका हिसाबले दोस्रो भएता पनि मुख्य भूमिका निर्वाह गरेको पहिलो सिनेमा हो । बाल्यकालदेखि नै गीतमा नृत्य गर्ने, अभिनयको अभ्यास गर्ने गर्थे । तर, स्कुल जीवन सकिएपछि यसमा नै भविष्य बनाउने निर्णय लिएँ । त्यहिँ अनुरुप सुरु गरेकी हुँ ।

मैले बाल्यकालदेखि नै सिनेमा निर्देशकका रुपमा देखेको दीपक सरसँग काम गर्न पाउँदा उत्साहित छु । उहाँले कहिले नयाँ जस्तो गर्नुभएन र टिमको सहयोगले काम गर्न सहज भयो । यस क्षेत्र आफूलाई अगाडि बढाउन उहाँहरूबाट प्राप्त भएको सिकाईले मदत गर्नेछ । मैले सिनेमामा आफ्नै उमेर समुहकी युवतीको भूमिका निर्वाह गरेकी छु । सम्पन्न परिवारको सरल युवतीको भूमिका छ । जसले माया खोज्छे तर पाउदिन ।

आकाश अर्थात् किरणसँगको प्रेम नै सिनेमाको कथासार हो । तर, त्यसमा आउने उतार-चढावले हाम्रो पुस्तालाई मायाको बारेमा स्पष्ट बनाउँछ भन्नेमा विश्वस्त छु । निर्माता बुढाथोकीले सिनेमा निर्माणमा आउनुको कारण बताए । उनले व्यावसायिक रुपमै अगाडि बढ्ने योजना साट्दै निर्माणलाई निरन्तरता दिने जनाए ।

रोमन फिल्म र तपश्री फिल्म्स (सिक्किम)को संयुक्त व्यानरमा निर्माण गरिएको सिनेमामा शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ, मनिष श्रेष्ठ र अनिशा रसाईली लगायतका कलाकारले अभिनय गरेका छन् । सिनेमामा बादल पारीको लोकप्रिय गीत ‘कालो चस्मा लाउ है मैया’ रीमेक गरिएको छ ।

सिनेमामा राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह-निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायांकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको संगीत, भुपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन रहेको छ ।

सिनेमाको छायांकन नेपालसँगै सिक्किमको रमणीय दृश्यमा गरिएको छ । सिनेमा काठमाडौं उपत्यकामा करण श्रेष्ठको रीच इन्टरटेनमेन्ट र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछन् ।