प्रिमियर शोमा रुचाइयो ‘चित्रा’

प्रिमियर शोमा रुचाइयो ‘चित्रा’

द सिनेमा टाइम्स
28
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘चित्रा’को सोमबार काठमाडौंमा प्रिमियर गरिएको छ । डेब्यू अभिनेता सन्तोष अधिकारीको मुख्य भुमिका रहेको सिनेमाको प्रिमियरमा नेपाली सिनेमाकर्मी तथा पत्रकारहरु उपस्थिति थिए ।

सिनेमाको प्रिमियरमा गौरी मल्ल, भुवन केसी, नरेश पौड्याल, निर्मल शर्मा, प्रदिप भारद्वाज, निर्मात्री शर्मिला पाण्डे, निर्देशक दीपेन्द्र के खनाल, ज्ञानेन्द्र देउजा, नवल नेपाल, निर्देशक तथा अभिनेता सुरज पाण्डे कलाकार नरेन खड्का, रोहित रुम्बा लगायत पुगेका थिए ।

प्रिमियरपछि प्रतिक्रिया दिएका अधिकांशले सिनेमा राम्रो बनेको र कथा मनपरेको बताए । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले डेब्यू अभिनेता सन्तोषको अभिनय राम्रो लागेको प्रतिक्रिया दिए । यसैगरी उनले प्रमोद अग्रहरीको पनि तारिफ गर्दै आफू इमोशनल बनेको बताए ।

सिनेमाको कथा मनपरेको बताएकी अभिनेत्री गौरी मल्लले ‘चित्रा’मा छोरीको भूमिकामा काम गरेका आयुशी ढकाल र सिम्रन खड्काको अभिनयबाट प्रभावित भएको सुनाइन् । निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाले डेब्यू अभिनेता सन्तोषलाई राम्रो काम गरेकोमा बधाई दिइन् । बाल कलाकार आयुशी ढकाल र अभिनेत्री सिम्रन खड्काको तारिफ गरिन् ।

पारिवारिक कथामा निर्माण धएको घनश्याम लामिछाने निर्देशित सिनेमामा डेब्यू अभिनेता सन्तोषका अलावा प्रमोद अग्रहरी, अर्पण थापा, मेनुका प्रदान, शुभेच्छा खड्का, प्रकाश घिमिरे, अञ्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, कुमार गुरुङ, उज्ज्वल ढकालको पनि अभिनय छ ।

महेश पौडेलको छायांकन रहेको ‘चित्रा’मा राजनराज सिवाकोटीको संगीत, मनिष गौतमको पटकथा एवं संवाद लेखन छ । चित्राको निर्मातामा आशिष थापा मगर र सन्तोष अधिकारी कार्यकारी निर्मातामा हुन् । सिनेमाको एसोसिएट निर्मातामा राज श्रेष्ठ छन् ।

बनिश शाह र सन्देश शाहको सम्पादन रहेको सिनेमाको नेपालभरको वितरणको जिम्मा केदार पराजुलीको श्री कृष्ण फिल्म्सले लिएको छ । सिनेमाको अष्ट्रेलिया प्रदर्शकन अधिकार अविनास रोका मगरले किनेका छन् ।