फागुन ११ मा मिलन चाम्स निर्देशित ‘गोर्खा वारियर’को प्रदर्शन मिति घोषणा

फागुन ११ मा मिलन चाम्स निर्देशित ‘गोर्खा वारियर’को प्रदर्शन मिति घोषणा

द सिनेमा टाइम्स
105
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक मिलन चाम्स निर्देशित सिनेमा ‘गोर्खा वारियर’को नेपाल प्रदर्शन मिति घोषणा गरिएको छ । सिनेमालाई आगामी फागुन ११ गते अर्थात् २३ फेब्रअरीबाट नेपाली सिनेमा हलमा प्रदर्शन गर्न लागिएको हो । गोर्खा सैनिकको बहादुरीको कथामा आधारित सिनेमाको गत भदौमा बेलायतस्थित प्रतिष्ठित आइम्याक्स सिनेवर्ल्डमा प्रिमियर गरिएको थियो ।

‘ब्रिटिश एकेडेमी फिल्म अवार्ड’ बाफ्टामा समेत सिनेमा छानिएको छ । निर्देशक चाम्सका अनुसार, भारत र दक्षिण कोरियाका लागि सिनेमाको प्रदर्शन अधिकार बिक्री भैसकेको छ । यी बाहेकका देशमा अमेरिकाको एक प्रतिष्ठित कम्पनीले सिनेमा रिलिज गर्ने भनाई निर्देशक चाम्सको छ ।

नेपाली, अंग्रेजी र हिन्दी गरी तीन भाषामा तयार भएको सिनेमालाई अहिले कोरियन भाषामा स्वरांकन गरिँदैछ । सिनेमा हेर्दा हरेक नेपालीले गर्व महसुस गर्ने निर्देशक चाम्सको विश्वास छ । सन् १९४९ मा भएको ‘मलाया इमरजेन्सी जंगल वार’मा गोर्खा सैनिकले देखाएको बहादुरीको कथालाई सिनेमामा उठाइएको छ ।

सिनेमामा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, कविता आले, सुरज तमु, भुवन सिंह राई, त्रिचु राई, दिग्गज खत्री, सरोज खालिङ, अरुष सरु मगर, आशिष गुरुङलगायतको अभिनय रहेको छ । रितेशले यही सिनेमाबाट अभिनेताको रुपमा डेब्यू गरेका हुन् । यो सिनेमामा अभिनेता विजय लामाले सैनिक मेजरको भूमिका निवार्ह गरेका छन् ।

सिनेमाको निर्मातामा निर्देशक चाम्स, सुमन राई र सुस्मिता वाइवा छन् भने कार्यकारी निर्माता प्रशान्त थापा र राजेन्द्र घिमिरे हुन् । सुरेश राई सह-निर्माता रहेको सिनेमा निर्देकह चाम्स र गिरिराज घिमिरेको लेखन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व, शैलेन्द्र खनालको गीत र एलिस कार्कीको संगीत छ ।