‘भूठान’को मुख्य भुमिकामा हलिउड अभिनेता ब्रुस डर्न

‘भूठान’को मुख्य भुमिकामा हलिउड अभिनेता ब्रुस डर्न

द सिनेमा टाइम्स
154
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाली सिनेमा ‘भूठान’मा हलिउड अभिनेता ब्रुस डर्नले मुख्य भूमिका निवार्ह गर्ने भएका छन् । निर्देशक विनोद पौडेलको भनाई उदृत गर्दै अमेरिकाको प्रतिष्ठित अनलाइन पत्रिका भेराइटीले सिनेमामा डर्नको प्रवेश भएको उल्लेख गरेको छ ।

निर्देशक पौडेलल् डर्नलाई एजेन्सीमार्फत् स्क्रिप्ट पठाएका थिए । स्क्रिप्ट मन परेपछि उनी नेपाली सिनेमामा अभिनय गर्न तयार रहेको जानकारी गराएका हुन् । सन् १९७९ मा डर्न सिनेमा ‘कमिङ होम’बाट ओस्कार अवार्डको मनोनयनमा परेका थिए । त्यसपछि सिनेमा ‘नेब्रास्का’का लागि उनले सन् २०१३ मा ‘कान्स सिनेमा महोत्सव’मा उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए ।

ब्रिटिश एकेडेमी सिनेमा अवार्ड, जिनी पुरस्कार र गोल्डेन ग्लोब्स अवार्डमा समेत धेरैपटक मनोनयनमा परेका उनले ५० बढी सिनेमा तथा टेलिभिजन सिरिजमा अभिनय गरेका छन् । अंग्रेजीमा ‘द वर्ल्डस् ह्याप्पिएस्ट म्यान’ नाम राखिएको सिनेमामा यसअघि हरिवंश आचार्य, दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द लामा, ऋचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन लगायत अनुबन्ध भैसकेका छन् ।

सिनेमा नेपाली र अंग्रेजी भाषामा निर्माण हुनेछ । सन् २०१९ मा बुसान सिनेमा महोत्सवको स्कृप्ट पिचिङ्गमा छानिएको ‘भूठान’मा सुसन प्रजापतिको छायांकन रहनेछ । एलएन अधिकारी र कौशिला खनाल कार्यकारी निर्माता रहेको सिनेमामा दीपक गजमेर लाईन प्रोड्युसरमा छन् । सन् २०१७ मा हलिउडको ‘ला ला ल्याण्ड’ सिनेमाबाट अस्कर जितेका स्टार झाउ पनि एसोशियट निर्मातामा छन् ।

यो सिनेमामा शैलेश मैनाली, दिपक दस्नामी, मनोरथ खनाल, रविन पोख्रेल, प्रदीप शर्मा बडाई, राजु पौडेल, संजीव भार श्रेष्ठ र नवराज पराजुलीको सह-निर्माण रहनेछ ।