‘गाउँ आएको बाटो’ युरोपको प्रतिष्ठित गोटेबर्ग सिनेमा महोत्सवमा

‘गाउँ आएको बाटो’ युरोपको प्रतिष्ठित गोटेबर्ग सिनेमा महोत्सवमा

द सिनेमा टाइम्स
497
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नविन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ युरोपको महत्वपूर्ण सिनेमा महोत्सव ‘४७ औं गोटेबर्ग अन्तर्राष्ट्रिय सिनेमा महोत्सव २०२४’ स्वीडेनमा छनौट भएको छ । यही महोत्सवमा सिनेमाको युरोपियन प्रिमियर हुने जानकारी निर्माण पक्षले दिएको छ।

गोटेबर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सव स्केन्डेभियन क्षेत्रको सबै भन्दा ठूलो महोत्सव मात्र नभएर युरोपको पनि महत्वपूर्ण चलचित्र महोत्सव हो । ‘गोटेबर्ग अन्तर्राष्ट्रिय सिनेमा महोत्सव  २०२४’ जनवरी २६ देखि फेब्रुवरी ४ सम्म चल्नेछ। ‘गाउँ आएको बाटो’मा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा र प्रेम सुब्बा लगायतका कलाकारले अभिनय रहेको छ।

यो सिनेमाको टोरोन्टो सिनेमा महोत्सवमा विश्व प्रिमियर भएको थियो भने वुसान अन्तर्राष्ट्रिय सिनेमा महोत्सव, एशियन प्रिमियर, मामी मुम्बईमा साउथ एशियन प्रिमियर भइसकेको छ । निर्माण पक्षले सिनेमा विश्वको एकपछि अर्को प्रतिष्ठित चलचित्र महोत्सवमा छनौंट हुनुलाई नेपाली चलचित्रलाई विश्वले स्वीर्कान थालेको र नेपाली चलचित्रको क्षमता विस्तारका रुपमा बुझ्न सकिने प्रतिक्रिया दिएको छ।

राई जातिको सामाजिक पृष्ठभूमिमा बनेको यस सिनेमामा गाँउमा सडक आए पछि बाबुछोराको सम्बन्धमा आउने उतारचढावलाई नियाल्ने प्रयास गरिएको छ । सामुदायिक लगानीको अवधारणामा यो सिनेमा निर्माण भएको हो । ‘गाउँ आएको बाटो’ देशभित्र र विश्वका विभिन्न देशहरूमा छरिएर रहेका नेपालीहरूको सामुहिक लगानी छ ।

यो सिनेमा छोमोलोङमा प्रोडक्सन र गाँउघर फिल्म प्रडक्सनको सहयोगमा मेन्छ्याम पिक्चर्सको ब्यानरमा निर्माण भएको हो । नेपालमा यो सिनेमा बाँसुरी फिल्मसको संयोजनमा नेपालमा २०८१ जेठ १८ बाट सार्वजनिक प्रर्दशनमा आउने छ।