‘पर्खी बसें तिमीलाई’बाट आशावादी डेब्यु अभिनेता किरण श्रेष्ठ

‘पर्खी बसें तिमीलाई’बाट आशावादी डेब्यु अभिनेता किरण श्रेष्ठ

द सिनेमा टाइम्स
77
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘पर्खी बसें तिमीलाई’बाट किरण श्रेष्ठ नेपाली सिनेमा क्षेत्रमा डेब्यु गर्दैछन् । उनी नाटकबाट सिनेमामा आएका हुन् । उनले मण्डला थिएटरका १३ वटा नाटकमा अभिनय गरिसकेका छन् ।

उनी एक वेब सिरिजमा अभिनय गर्ने तयारी गर्दै गर्दा निर्देशक दीपक श्रेष्ठले उनलाई सिनेमाको अफर गरेका थिए । ‘थियटरमा काम गरिरहेको थिएँ । आफ्नो कलाकारितालाई विश्वव्यापी बनाउने माध्यम सिनेमा पनि हो । अफर आएपछि किन नगर्ने ? भन्ने लागेको हो’, किरणले भने, ‘दीपक सरकै पर्खी बसेंमार्फत राज बल्लभ कोइराला ले डेब्यु गर्नुभएको थियो । यहिँ नाम पाएपछि झनै उत्साहित भए ।’

किरणलाई नाटकबाट सिनेमामा आउने नयाँ पुस्ताको रुपमा हेर्न सकिन्छ । सिनेमा र नाटकलाई फरक माध्यम भएकाले उनले दुवैमार्फत कलाकारिता देखाउन खोजेका छन् । ‘यी दुई माध्यममा अभिनयको भेरिएसन फरक पक्कै छ । थिएटरमा दर्शकसँग प्रत्यक्ष साक्षात्कार गरिन्छ । सिनेमामा चाहिं रेकर्डेड हुन्छ । सिनेमामा इमोसनलाई निरन्तरता दिन मुस्किल पर्ने रहेछ’, किरणले अनुभव सुनाउदै भने, ‘एउटा कलाकार भएपछि दुवैतर्फ काम गर्न सक्नुपर्छ भन्ने लागेर सुरु गरे । थियटर र सिनेमा दुवैलाई निरन्तरता दिन्छु ।

यो सिनेमाको कथा अहिलेको परिवेशसँग मिल्दो सामाजिक र प्रेम कथानक छ । उनले यसमा द्वन्द्व, रोमान्स, ड्रामा सबै पाउने बताए । केही समयको अन्तरालमा प्रेम कथामा आधारित सिनेमा आएको छ । ‘कसैको गल्तीबाट प्रेम सम्बन्धमा आउने खटपटको कथा सिनेमाको छ । यो समाजको प्रतिविम्ब पनि हो । यसमा युवापुस्तासँगै अभिभावकले पनि रिलेट गर्नुहुनेछ । किनकि हामी दुवैले एक अर्कालाई बुझ्नु जरुरी छ’, किरणले भने ।

उनी आफूमा हिरोरिजम र कलाकारिता दुवै होस् भन्ने चाहन्छन् । त्यहिँ अनुसार उनले आफ्नो करिअरलाई अगाडि बढाउने प्रयास गरिरहेका छन् । समग्रमा उनी कलात्मक र व्यावसायिक दुवै सिनेमामार्फत कलाकारिता देखाउने तयारीमा छन् ।

‘स्टार र कलाकारको आफ्नै विशेषता छ । दुवैले आफ्नो कलाकारिता वा स्टारडममार्फत दर्शकको मन जितेका छन् । म दुवै मेकर्सको रोजाईमा पर्ने गरि काम गर्न चाहन्छुु, किरणले भने । उनी ‘पर्खिबसें तिमीलाई’बाट आफ्नो अभिनय, नृत्य र लुक्सको प्रशंसाको अपेक्षा राख्छन् । वर्षमा कम्तीमा दुई नाटक र सिनेमा गर्ने उनको योजना छ ।

रोमन फिल्म र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त व्यानरमा निर्माण गरिएको सिनेमामा किरणका अलवा शिव श्रेष्ठ, रक्षा बुढाथोकी, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् ।

सिनेमामा राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह-निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायांकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको सङ्गीत, भुपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन रहेको छ ।

सिनेमाको छायांकन नेपालसँगै सिक्किमको रमणीय दृश्यमा गरिएको छ । सिनेमा काठमाडौं उपत्यकामा करण श्रेष्ठको रीच इन्टरटेनमेन्ट र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछन् ।