‘२ रुपैयाँ’मा समावेश ‘कुटुमा कुटु’ बन्यो २० करोड पटक हेरिने नेपाली गीत

‘२ रुपैयाँ’मा समावेश ‘कुटुमा कुटु’ बन्यो २० करोड पटक हेरिने नेपाली गीत

द सिनेमा टाइम्स
70
Shares

द सिनेमा टाइम्स, काठमाडौं – असिम शाहको निर्देशनमा निर्माण भएको सिनेमा ‘२ रुपैयाँ’मा समावेश गीत ‘कुटुमा कुटु’ २० करोड पटक हेरिने नेपाली गीत बनेको छ । पछिल्लो समय गीत संगीतको लोकप्रियता मापन गर्ने प्लेटफर्म युट्युब बनेको छ ।

युट्युबमा सर्वाधिक संसारमा हेरिने धेरै गीत छन् । नेपालमा पनि केही गीतले करोडौं भ्युज बटुलेका छन् । तर, पछिल्लो केही वर्ष यता युट्युब सबैभन्दा धेरै हेरिने नेपाली गीतको रेकर्ड भने ‘कुटुमा कुटु’को कायम गरेको छ । यो गीतले युट्युबमा २० करोड भ्यूजको कीर्तिमानी रेकर्ड बनाएको छ ।

तीन करोड जनसंख्या रहेको देशमा एउटै गीतलाई २० करोडपटक हेरिनु ठुलो उपलब्धि हो । हाइलाइट्स नेपालको युट्युब च्यानलमा ६ वर्षअघि रिलिज भएको गीतलाई शुक्रबार २० करोड भ्यूज मिलेको हो । प्रायः हरेकजसो सार्वजनिक कार्यक्रममा अनिवार्य घन्किने यो गीतमा राजनराज सिवाकोटीको शब्द र संगीत छ भने गायनमा उनलाई राजन इसान र मेलिना राईले सघाएका छन् ।

संगीतकार राजनराजले गीतले २० करोड भ्यूज प्राप्त गरेपछि फेसबुकमा लामो स्टाटस लेख्दै ‘बिर्कोमा लाको चिनीमा कसरी पस्यो कमिलो’ लेख्दा आफ्नो हात कामेको स्मरण गरेका छन् । तर, पछि यही लाइन चर्चित बनेकोमा खुसी व्यक्त गर्दै उनले ५ मिनेटको गीतमा अन्न, फलफूल, बनस्पती, चराचुरुंगी, जनावर, धर्मसँगै धुम्रपान र मद्यपान गर्नु हुँदैन भन्ने सन्देश पनि रहेको लेखेका छन् ।

यो गीतमा नृत्य गरेपछि अभिनेत्री स्वस्तिमा खड्का दर्शकको ठूलो वर्गमा चिनिएकी थिइन् । उनले यो गीतलाई आफ्नो करिअरको टर्निङ पोइन्ट मान्ने गरेकी छन् । गीतमा स्वस्तिमाका साथै निश्चल बस्नेत र आसिफ शाहको पनि नृत्य छ । ‘कुटुमा कुटु’ गीतको ‘दुई रुपैयाँ’ बक्स अफिसमा सफल हुनुमा ठूलो योगदान मानिन्छ ।