निफको सातौँ संस्करण चैतको १ देखि ५ सम्म, ४० देशका ८८ सिनेमा देखाइने

निफको सातौँ संस्करण चैतको १ देखि ५ सम्म, ४० देशका ८८ सिनेमा देखाइने

द सिनेमा टाइम्स
70
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाल इन्टरनेसनल सिनेमा महोत्सव (निफ)को सातौं संस्करण चैतको १ देखि ५ गतेसम्म हुने भएको छ । मंगलबार नेपाल पर्यटन बोर्डको हलमा महोत्सवमा प्रदर्शन हुने सिनेमाहरुको सूची सार्वजनिक गर्दै महोत्सव अवधिभर समसामयिक विषयमा स्वदेशी तथा विदेशी सिनेमाकर्मीका रोचक र अर्थपूर्ण छलफलका सत्र पनि सञ्चालन हुने जानकारी गराएको छ ।

महोत्सवका अध्यक्ष केपी पाठकले सिनेमाको लाइनअप सार्वजनिक गर्दै यस संस्करणमा ६० देशका ५०० बढी प्राप्त भएकोमा छनौट समितिले ४० देशका ८८ वटा सिनेमा छानिएको बताए । ‘निफलाई प्राप्त सिनेमाको संख्याले हामीलाई उत्साहित बनाएको छ । सिनेमा आउने यो अनुपात हेर्दा ५ दिनमा पनि नभ्याउने स्थिति बनिरहेको छ,’ उनले भने, ‘तर निरन्तरता दिने हिसाबले आर्थिक रुपमा चुनौतीको सामना गरिरहनु गरेको छ । यो पक्षका लागि सबैसँग सहयोगको अपेक्षा राखेका छौँ ।’

निफमा यो पटक छनौटमा परेका थुप्रै सिनेमाहरु कान्स, लोकार्नो, बर्लिन आदि प्रतिष्ठित महोत्सवमा पनि प्रदर्शन भइसकेको जानकारी गराइएको छ । कार्यक्रममा शुभकामना व्यक्त गर्दै अभिनेता नीर शाहले निफले आगामी दिनमा पूँजी र बजार एवं पूर्वीय ज्ञानमा केन्द्रित गर्नुपर्ने सुझाव दिएका थिए ।

अघिल्लो साल ‘प्रकाश’ बाट उत्कृष्ट अभिनेताको अवार्ड जितेका प्रदीप खड्काले आफू सिनेमाको सिकारु भएपनि सिनेमालाई सञ्चार मन्त्रालयको मातहतमा राखिनु आफ्नो लागि जिज्ञासाको विषय रहेको बताए ।

यसैगरी कार्यक्रममा बोल्दै चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसीले नीति नियम नहुँदा बोर्डले अपेक्षित काम गर्न नसकेको धारणा राखेका थिए । ‘पञ्चायतकालीन कानुनको भरमा हामी विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्दैनौँ । अहिले हामी कानुन निर्माणका लागि लागि परेका छौँ । योपछि विश्व बजारमा जाने फिल्मको निर्माणमा बल्ल सघाउन सक्छौँ,’ उनको भनाइ थियो ।

निफको यो संस्करण पनि अघिल्लो संस्करणझैँ राष्ट्रिय र अन्तर्राष्ट्रिय दुई भागमा विभाजन गरी अवार्ड बाँडिनेछ भने लघु सिनेमा र वृत्तचित्र विधामा पनि अवार्ड वितरण गरिनेछ । महोत्सवमा प्रदर्शन हुने चलचित्र क्यूएफएक्स सिनेमाका शाखाहरु सिभिल मल,लबिम मल, भक्तपुर र छायाँ सेन्टरका हलमा प्रदर्शन हुनेछन् ।

मोफसलमा केही संस्करण सम्पन्न गरेको निफले यो सालबाट प्रदेशमा पनि महोत्सवलाई विस्तार गर्ने तयारी गरिरहेको छ । प्रदेशमा हुने फेस्टिभलमा भने महोत्सवमा विजेता बनेकासँगै दर्शकको रुचिमा परेका सिनेमा प्रदर्शन गरिनेछन् । आयोजकले महोत्सव हुने प्रदेशको मिति र स्थान केही समयपछि सार्वजनिक गरिने जनाएको छ ।

महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर सिनेमालाई १५ सय अमेरिका डलर राशिसहित गौतमबुद्ध अवार्ड प्रदान गरिनेछ । त्यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिचर सिनेमाहरुबाट एउटालाई ‘सिनेमा समाजहरुको अन्तर्राष्ट्रिय महासंघ, आईएफएफएस डन क्विहोटे अवार्ड’ प्रदान गरिनेछ ।

महोत्सवमा सर्वोत्कृष्ट वृत्तचित्रलाई एक हजार डलर राशिको माउण्ट एभरेष्ट अवार्ड र सर्वोत्कृष्ट लघु सिनेमालाई ५ सय राशिको बागमती अवार्ड प्रदान गरिनेछ । यसैगरी नेपाली प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिचर सिनेमालाई १ लाख नगद र ट्रफी, उत्कृष्ट छोटो सिनेमा र उत्कृष्ट वृत्तचित्रलाई ५० हजार नगद र ट्रफी प्रदान गरिनेछ ।

सर्ट सिनेमामध्येबाट उत्कृष्ट निर्देशकलाई ट्रफी प्रदान गरिनेछ भने फिचर सिनेमा तर्फका उत्कृष्ट निर्देशक, लेखक, छायांकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिनेछ । यो वर्षबाट दर्शक रुचिका सिनेमालाई अवार्ड दिने थप एउटा विधा पनि थपिएको छ । ‘अडियन्स च्वाइस अवार्ड’ शीर्षकमा बाँडिने यो अवार्ड दर्शकको भोटका आधारमा चयन गरिनेछ ।