गुहेश्वरी मन्दिरमा ‘झिल्को’ शुभमुहूर्त, सुनिल, वर्षा र विशालको मुख्य भुमिका

गुहेश्वरी मन्दिरमा ‘झिल्को’ शुभमुहूर्त, सुनिल, वर्षा र विशालको मुख्य भुमिका

द सिनेमा टाइम्स
567
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘झिल्को’बाट निर्देशक यादव कुमार भट्टराईले ६ वर्षपछि निर्देशनमा कमब्याक गर्ने भएका छन् । ‘झोला’बाट निर्देशन डेव्यु गरेका उनी निर्देशित पछिल्लो सिनेमा ‘भोर’ सन् २०१८ मा रिलिज भएको थियो । सिनेमा ‘भोर’पछि भट्टराई निर्देशनमा सक्रिय थिएनन् । अब उनले ‘झिल्को’बाट कमब्याक गर्न लागेका हुन् ।

बिहीबार साँझ गौशालास्थित गुहेश्वरी मन्दिरमा विशेष पूजाआजासहित शुभमुहूर्त गर्दै सिनेमा निर्माणको औपचारिक घोषणा गरियो । सामाजिक तथा पारिवारिक कथामा बन्न लागेको सिनेमामा सुनिल पोखरेल, विशाल पोखरेल, भोलाराज सापकोटा, वर्षा सिवाकोटी बाल कलाकार आयुषी ढकाल लगायतको मुख्य भूमिका रहनेछ ।

आगामी माघ २२ गतेदेखि छायांकन सुरु गर्न लागिएको सिनेमाले वर्तमान नेपाली समाजको यथार्थ चित्रण गर्ने निर्देशक भट्टराईले बताए । रंगमञ्चको दुनियाँमा जमेका तथा पछिल्लो समय नेपाली सिनेमामा दबदबा कायम गरेका अधिकांश कलाकारका गुरु सुनिल पोखरेलले १३ वर्षपछि ‘झिल्को’बाट सिनेमामा कमब्याक गर्न लागेका हुन् । पछिल्लो पटक उनी सन् २०११ मा आएको सिनेमा ‘आचार्य’मा देखिएका थिए ।

मिडिया फर कल्चरको ब्यानरमा निर्माण हुन लागेको सिनेमालाई दीपक बज्रचार्यले छायांकन गर्ने जिम्मेवारी पाएका छन् । निर्देशक भट्टराईले अरुणदेव जोशी र देवव्रतको सहयोगमा सिनेमाको पटकथा तथा संवाद लेखेका हुन् । सिनेमामा आनन्द अधिकारीको गीत, चण्डी प्रसाद काफ्लेको संगीत र नगेन्द्र घिमिरेले प्रोडक्सन डिजाइनरको जिम्मेवारी पाएका छन् ।