anmol jasita

गायक सुजन चापागाईलाईं ‘बलिदान’को संगीतको संयोजनको जिम्मेवारी

गायक सुजन चापागाईलाईं ‘बलिदान’को संगीतको संयोजनको जिम्मेवारी

द सिनेमा टाइम्स
231
Shares

द सिनेमा टाइम्स, काठमाडौं – छायांकनको तयारीमा रहेको सिनेमा ‘बलिदान’को संगीतको संयोजनको जिम्मेवारी पछिल्लो समयका चर्चित गायक सुजन चापागाईंले पाएका छन् । सुजनका अलवा सांगीतिक संस्था आर्टमान्डु टिमका अन्य दुई सदस्य गीतकार हर्क साउद र निर्देशक नवीन चौहानसँग निर्देशक सन्तोष सेनले कागजी सम्झौता गरेका हुन् ।

गायक चापागाईंका ‘तीन पाते’, ‘फूलथुंगे रानी’, ‘लजाएर’, ‘गाला पुक्क’, ‘घुमी घुमी’, ‘बाफ’ जस्ता गीतबाट लोकप्रिय छन् । उनले सिनेमामा पनि हिट गीत दिइसकेका छन् । उनको स्वर तथा संगीत रहेको सिनेमा ‘बाबरी’को ‘चुलबुल चुलबुल’ गीत हिट भएको थियो ।

अब उनी सन्तोष सेनको निर्देशन तथा निर्माणमा बन्न लागेको सिनेमा ‘बलिदान’को गीतमा स्वर तथा संगीत भर्ने भएका छन् । सिनेमाको गीत तथा ब्याकग्राउन्ड म्यूजिकमा सुजनसहितको टिमले काम गर्नेछ । हर्कले गीत रचना गर्नेछन् भने सुजनको स्वर, संगीत र ब्याकग्राउन्ड म्यूजिक रहनेछ । नवीनले टिम व्यवस्थापन गर्नेछन् ।

सुजनसहितको टिम संलग्न भएसँगै यतिबेला गीत संगीतको विषयमा कार्यशाला भैरहेको छ । निर्देशक सेनले सिनेमाको कथा र मर्म अनुसारका गीत उत्पादन गर्न केही दिन छलफल गरिने बताए । दशैंको फूलपातीमा टिजर रिलिज गरिएसँगै चर्चामा रहेको सिनेमामा सौगात मल्ल र अर्पण थापा मुख्य भूमिकामा भित्रिसकेका छन् । बाँकी कलाकार छनोट गर्ने प्रक्रियामा निर्माण टिम लागि रहेको छ ।

आसुसेन फिल्मस् तथा सन्तोष सेनको प्रस्तुति रहने सिनेमा निर्मातामा पवन ब्राडफोर्ड बिस्ट तथा कार्यकारी निर्माता चक्र बहादुर चन्द र प्रेम पुरी छन् । देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिछ भन्ने कथावस्तुमा सिनेमा बन्ने निर्देशक सेनले बताए । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा लेखक दर्शन जीको लेखन रहेको सिनेमाको ‘स्क्रिप्ट डक्टर’ मनोज पण्डित हुन् ।