बर्लिन इन्टरनेशनल सिनेमा महोत्सवमा मीन भामको ‘शाम्बाला’ छनोट

बर्लिन इन्टरनेशनल सिनेमा महोत्सवमा मीन भामको ‘शाम्बाला’ छनोट

द सिनेमा टाइम्स
56
Shares

द सिनेमा टाइम्स, काठमाडौं – विश्वकै प्रतिष्ठित मानिने बर्लिन इन्टरनेशनल सिनेमा महोत्सवमा निर्देशक मीन भामको दोस्रो फिचर सिनेमा ‘शाम्बाला’ छनोट भएको छ । फेस्टिभलको अन्तर्राष्ट्रिय विधामा सिनेमा छनोट भएको हो ।

बर्लिनको यो विधामा छनोट हुने ‘शाम्बाला’ पहिलो नेपाली फिचर सिनेमा बनेको छ । हलिउडको प्रसिद्ध पत्रिका डेडलाइनका अनुसार, अन्तर्राष्ट्रिय विधामा २० वटा सिनेमा छानिएका छन् । आगामी फेब्रअरी १५ देखि २५ सम्म जर्मनीको राजधानी बर्लिनमा हुन लागेको महोत्सवमा निर्देशक भाम सहभागी हुने जनाइएको छ ।

सोमबार राजधानीमा एक कार्यक्रमका बीच सिनेमाको पोस्टर सार्वजनिक गर्दै बर्लिन सिनेमा महोत्सवको ‘लाइनअप’ प्रत्यक्ष प्रशारण समेत गरिएको थियो । ‘चिसो वर्ष’ शीर्षकमा सिनेमाको छायांकन पूरा गरेपछि निर्देशक भामले नाम परिवर्तन गरेका हुन् ।

उच्च हिमाली गाउँकी एक गर्भवती महिलालाई श्रीमानले छोडेपछि आफ्ना देवरलाई लिएर उनको खोजीमा हिँडेको कथामा सिनेमा आधारित छ । सिनेमामा निर्देशक भाम र अविनाशविक्रम शाहको लेखन रहेको छ । अविनाश तिनै हुन्, जसले निर्देशन गरेको छोटो सिनेमा ‘लोरी’ले कान्स सिनेमा महोत्सवमा ग्राण्ड जुरी पुरस्कार जित्न सफल भएको थियो । उनी ‘कालो पोथी’का पनि लेखक हुन् ।

सुनी फिल्म्सको ब्यानरमा निर्माण भएको सिनेमामा थिन्ले ल्हामो, सोनम तोप्देन, तेन्जिङ डल्हा, कार्म शाक्य आदिको मुख्य भूमिका छ । गायक समेत रहेका सोनमले सिनेमा ‘सम्हालिन्छ कहिले मन’बाट डेब्यू गरेका थिए । ‘शाम्बाला’मा उनी डोल्पाली युवकको भूमिकामा देखिने छन् ।

कालो पोथी निर्देशक भामको यो सिनेमाले निर्माणअघि थुप्रै अन्तर्राष्ट्रिय ‘फन्ड’ जितेको थियो । यो सिनेमा १४ करोडमाथिको लागतमा निर्माण भएको जनाइएको छ । सिनेमा विश्वका थुप्रै सिनेमा महोत्सवमा प्रदर्शन पश्चात मात्रै नेपाली सिनेमा घरमा रिलिज हुने निर्माण टिमले जानकारी दिएको छ ।