‘हात्तीछाप’लाई लिएर उत्साहीत सौगात र उपासना, बुधबार ट्रेलर रिलिज हुँदै

‘हात्तीछाप’लाई लिएर उत्साहीत सौगात र उपासना, बुधबार ट्रेलर रिलिज हुँदै

द सिनेमा टाइम्स
105
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी माघको २६ गतेबाट रिलिजको तयारीमा रहेको सिनेमा हात्तीछापको भोली बुधबार ट्रेलर सार्वजनिक हुँदैछ । यो सिनेमालाई लिएर मुख्य अभिनेता सौगात मल्ल र अभिनेत्री उपासना सिंह ठकुरी उत्साहित देखिएका छन् । सिनेमाको प्रचारका क्रममा विभिन्न मिडियासँग कुराकानीका क्रममा सौगात र उपासनाले दर्शकलाई २ घन्टा पूर्ण रुपमा मनोरञ्जन दिने बताएका हुन् ।

सिनेमामा सौगात मल्ल ‘बोत्तल राजा’को भूमिकामा छन् । यो सिनेमाका लागि सौगातले कपाल पनि लामो पालेका थिए । सौगात भन्छन् – ‘हामीले राम्रो सिनेमा बनाएर दर्शकलाई मनोरञ्जन दिने कोशिश गरेका छौं । यसका लागि सिनेमाका सबै टिमको मिहिनेत निकै छ । आशा छ, दर्शकले सिनेमालाई मन पराउनुहुनेछ ।’

सिनेमा ‘२ नम्बरी’मा एकसाथ काम गरेपछि अभिनेताद्धय दयाहाङ राई र सौगात मल्लको साथमा अभिनेत्री उपासना सिंह ठकुरीले ‘हात्तीछाप’मा काम गरेका हुन् । उपासना पनि सिनेमालाई लिएर उत्साहित देखिइन् । सिनेमाले सामाजिक कथावस्तुलाई उठाएको उनको भनाई छ ।

उपासना भन्छिन् – ‘म सिनेमाको स्क्रिप्ट मन परेपछि मात्र काम गर्न तयार हुन्छु । यसपटक पनि कथा पढ्दा मज्जा लाग्यो । यसमाथि, दयाहाङ र सौगात दाई भएपछि सिनेमामा यसै रमाइलो भइहाल्छ ।’ सिनेमा ‘२ नम्बरी’मा उपासना र सौगातको प्रेम देखाइएको थियो ।
हात्तीछापमा भने, दयाहाङ र उपासनाको प्रेम देखाइएको छ । यो बिषयमा उपासना भन्छिन् – ‘यो सिनेमामा दयाहाङ दाई र मेरो ल्वाङ गाउँको अर्गानिक प्रेमकथालाई प्रस्तुत गरिएको छ । दर्शकले, दयहाङ दाई र मेरो जोडीलाई पनि मन पराउनुहुन्छ भन्ने लागेको छ ।’

सिनेमाका निर्देशक सिमोस सुनुवारसँग काम गर्न निकै सहज भएकाले पनि नयाँ कुराहरु सिनेमामा आफैले जोड्न पाएको सौगातले बताए । उनले रमाइलो गर्दै भने – ‘सिमोसजीसँग काम गर्न त एकदमै सजिलो थियो । उहाँलाई यसो गरौं भन्ने वित्तिकै गर्न पाइने । यसैले, केही संवादहरु मैले आफै थपेको छु । निकै रमाइलोसँग काम गर्यौं ।’

सिनेमामा भुकम्पको कथा पनि उठाइएको उपासनाले खुलासा गरेकी छिन् । उनले भनिन् – ‘हाम्रो सिनेमाले समाजमा भइरहेको घटनालाई नै प्रस्तुत गरेको छ । कतिपय कुराहरु हामीले देखेर पनि वेवास्ता गरिरहेका हुन्छौं, ती बिषय सिनेमामा छन् । यी मध्ये भुकम्पको कथालाई पनि उठान गरेको छ । समसामयिक बिषयलाई रोचक तरिकाले उठान गरिएकाले हात्तीछाप विशेष छ ।’

किरण नेपालीको प्रस्तुतिमा तयार भएको सिनेमामा कलाकारहरुको लाइनअप पनि बलियो छ । सिनेमामा सौगात, दयाहाङ, उपासनाका अलवा बेनिशा हमाल, विजय बराल, बुद्दि तामाङ, विल्सन विक्रम राई, कमलमणी नेपाल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, भोलाराज सापकोटा, बिनोद न्यौपाने, सुष्मा निरौला लगायतका कलाकारको अभिनय रहेको छ ।

सिनेमामा प्रदीप भारद्वाजको लेखन, सुशन प्रजापतिको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ । सरोज नेपाली कार्यकारी निर्माता रहेको सिनेमाको निर्माता पुष्कर गुरुङ र अमलादेवी राई छन् ।