मिलन चाम्स निर्देशित ‘गोर्खा वारियर’को ट्रेलर सार्वजनिक

मिलन चाम्स निर्देशित ‘गोर्खा वारियर’को ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
154
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मिलन चाम्सको निर्देशनमा निर्माण भएको सिनेमा ‘गोर्खा वारियर’को ट्रेलर सार्वजनिक गरिएको छ । अभिनेता शिशिर वाङ्देलको सशक्त ‘भ्वाइस ओभर’बाट सुरु भएको ट्रेलरमा मलायाको जंगलमा आतंकवादीसँग गोर्खा सैनिकले लडेको लडाइँलाई देखाइएको छ ।

ट्रेलरमा सिनेमाटोग्राफी, भीएफएक्स र ब्याकग्राउन्ड स्कोरको काम राम्रो देखिन्छ । गत भदौमा लण्डनस्थित ‘आइम्याक्स सिनेवल्र्ड’मा प्रिमियर गरिएको फिल्ममा विजय लामा, रितेश चाम्स, शिशिर वाङ्देल, रेविका गुरुङ, रियर राई, सारा राई, कविता आले, सुरज तमु, विरुप गोले, सरोज खालिङ, सुमिन गुरुङ, त्रिचु राई लगायतको अभिनय छ ।

सिनेमा आगामी फागुन ११ गतेबाट प्रदर्शनमा आउँदैछ । गोर्खा सैनिकले सन् १९४९ मा ‘मलाया इमरजेन्सी जंगल वार’मा देखाएको बहादुरीको कथामा आधारित भएर सिनेमा बनेको हो । एक अमेरिकी वितरण कम्पनीले सिनेमालाई अन्तर्राष्ट्रिय रिलिज गर्न लागेको निर्देशक चाम्सले बताए ।

दक्षिण कोरियामा भने ‘मिस हुँ’ नामक कम्पनीले कोरियाली भाषामा स्वरांकन गरेर सिनेमा रिलिज गर्ने जनाइएको छ । यतिबेला सिनेमाको मुम्बईमा हिन्दी डबको काम पनि भइरहेको छ, जसमा रितेशको पात्रमा ‘केजीएफ’ श्रृंखलाका डबिङ आर्टिस्ट सचिन गोलेले आवाज दिएका छन् ।

निर्देशक चाम्स र गिरीराज घिमिरेको संयुक्त लेखन रहेको सिनेमाको निर्मातामा सुमन राई र सुस्मिता वाइवा छन् भने प्रशान्त थापा र राजेन्द्र घिमिरे कार्यकारी निर्माता हुन् । सुरेश राई सह-निर्मातामा छन् । सिनेमामा सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन र मिलन श्रेष्ठको सम्पादन छ ।

चाम्स इन्टरटेनमेन्ट र लण्डन सिने आईको ब्यानरमा निर्माण भएको सिनेमाको काठमाडौं तथा लाहुरेको सहर पोखरा र धरानमा प्रिमियर शोको आयोजना गर्ने तयारी निर्माण टिमको छ ।