राम बाबु गुरुङ निर्देशित ‘डिग्री माइला’को छायांकन सकियो

राम बाबु गुरुङ निर्देशित ‘डिग्री माइला’को छायांकन सकियो

द सिनेमा टाइम्स
763
Shares

द सिनेमा टाइम्स, काठमाडौं – राम बाबु गुरुङको निर्देशनमा निर्माण भएको सिनेमा ‘डिग्री माइला : एमए थर्ड क्लास’को छायांकन सकिएको छ । सिनेमाको छायांकन ४५ दिनमा रुम्जाटारमा सकिएको हो ।

असोज १ गतेदेखि ओखलढुंगाको रुम्जाटारबाट पहिलो चरणको छायांकन सुरु गरिएको थियो । पहिलो चरणको छायांकन सकिएसँगै सिनेमाको फर्स्टलुक पोस्टर सार्वजनिक भएको थियो । सिनेमाको सार्वजनिक पोस्टरमा शीर्ष पात्र ‘डिग्री माइला’ बनेका दयाहाङ राईलाई एकल रुपमा प्रस्तुत गरिएको थियो । पोस्टरमा उनलाई काठको बेन्चीमा गम्भिर मुद्रामा केही सोचिरहेको र चश्मा लगाएर जुँगा पालेको देख्न सकिन्छ ।

दोस्रो चरणको छायांकन भने काठमाडौंबाट सुरु गर्दै ओखलढुंगाको रुम्जाटार पुगेर सकिएको हो । बाँसुरी फिल्मसको ब्यानरमा निर्माण भएको यो सिनेमाले थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेस गर्छ । सिनेमाले ‘डिग्री माइला’को माध्यमबाट बेरोजगारीसँगै नेपाली समाजको चित्र पस्किनेछ ।

सिनेमामा दयाहाङका अलावा आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय रहेको छ । सिनेमाले ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने चर्चित नेपाली उखानलाई आफ्नो ट्यागलाइन बनाएको छ । सिनेमा आगामी नेपाली नयाँ वर्षमा रिलिज हुनेछ । ‘डिग्री माइला’ वर्षकै प्रतिक्षित सिनेमा हो ।