शिल्पा र प्रिन्स फिचर्ड ‘रङ्गेली’को गीत ‘हातैले उघाएर’ सार्वजनिक

शिल्पा र प्रिन्स फिचर्ड ‘रङ्गेली’को गीत ‘हातैले उघाएर’ सार्वजनिक

द सिनेमा टाइम्स
42
Shares

द सिनेमा टाइम्स, काठमाडौं – महाशिवरात्रीको अवसर पारेर आगामी फागुन २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको मल्टीस्टारर सिनेमा ‘रङ्गेली’को पहिलो गीत ‘हातैले उघाएर’ सार्वजनिक गरिएको छ । अर्जुन सुवेदीको शब्द, हर्कुलस बस्नेतको संगीत तथा निशान भट्टराई र लिला गजमेरको युगल स्वर रहेको छ ।

गीतको भिडियोमा अभिनेत्री शिल्पा मास्के र मोडल प्रिन्स विश्वकर्मा फिचर्ड छन् । गीतमा शिल्पालाई बोल्ड अवतारमा प्रस्तुत गरिएको छ । शिशिर खातीको कोरियोग्राफी रहेको गीतको भिडियोमा सिनेमाका मुख्य कलाकारहरुको चरित्रचित्रण गर्दै केही प्रेमिल र द्वन्द्वात्मक दृश्य पनि समावेश छ, जसले कथावस्तुबारे महत्त्वपूर्ण खुलासा गर्छ ।

शिल्पा र प्रिन्स सिनेमाको गीतमा मात्र देखिनेछन् । ‘हातैले उघाएर’ गीतलाई सिनेमामा कथावाचनको रुपमा प्रयोग गरिएको निर्देशक अर्जुन सुवेदीको भनाई छ । सिनेमामा उनकै लेखन छ । दयाहाङ राई, अर्पण थापा, मिरुना मगर, प्रवीण खतिवडा, रमेश बुढाथोकीको मुख्य भूमिका सिनेमामा रहेको छ ।

‘रङ्गेली’को कार्यकारी निर्माता जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् भने निर्माताहरु संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् । त्यस्तै, युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्मातामा छन् । विवेक खड्का (योलो) एशोसियट निर्माता रहेको सिनेमाका छायाँकार सुशन प्रजापति हुन् ।