‘दयारानी’को ट्रेलर भोलि आउँदै, टिजरभन्दा ट्रेलर दमदार हुने आशा

‘दयारानी’को ट्रेलर भोलि आउँदै, टिजरभन्दा ट्रेलर दमदार हुने आशा

द सिनेमा टाइम्स
238
Shares

द सिनेमा टाइम्स, काठमाडौं – माघ २६ गते रिलिज हुने ‘दयारानी’को ट्रेलर भोलि सोमबार रिलिज हुने भएको छ । केही दिन अगाडि निर्माण पक्षले सिनेमा टिजर रिलिज गरेको थियो । सो टिजरले सकारात्मक प्रतिक्रिया बटुलेको थियो ।

माओत्से गुरुङको डेब्यू निर्देशन रहेको सिनेमामा दयाहाङ राई र दीया पुनको प्रमूख भूमिका रहेको छ । सिनेवृत्तमा ‘दयारानी’ यसैवर्ष रिलिज भएको ‘जारी’ जस्तै सिल्पर हिट हुने अनुमान गरिदैं आइएको छ । टिजर रिलिजपछि सिनेमाले थप आशा बढाएपछि यस्तो अनुमान गर्न थालिएको हो ।

सार्वजनिक टिजरमा दया र दीयालाई निःसन्तान दम्पतीका रुपमा पेस गरिएको जहाँ दीयाले सन्तान प्राप्तिका लागि दयालाई दोश्रो विवाह गर्न प्रेरित गरेको देखाइएको छ । टिजरमा विवाहका लागि सालीको ट्विस्ट घुसाइएको छ । सालीको भूमिकामा अभिनय गरेकी परमिशा गुरुङको ‘ ए हो र ?, आफू को हो र ?’ संवादले चर्चा बटुलिरहेको छ ।

पारिवारिक कथा बोकेको ‘दयारानी’लाई अर्गानिक कथा बोकेको सम्भावनायूक्त सिनेमाका रुपमा हेरिएको छ । सिनेमामा दयाहाङ, दीया तथा प्रमिशाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिष्टी गुरुङ लगायतका कलाकार पनि अभिनय छ ।

‘वीर विक्रम’, ‘ह्याप्पी डेज’ र ‘मिस्टर झोले’पछि तेस्रो पटक एकसाथ काम गरेका दयाहाङ र दीयाको जोडी यो सिनेमाबाट पुनः पर्दामा एकसाथ आउँदैछन् । बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् ।

मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् । सिनेमाको कास्टिङ डारेक्टर मणिराम पोखरेल हुन् । सिनेमालाई नेपालमा प्रचण्डमान श्रेष्ठको कम्पनी टिफल्क फिल्मस् र विदेशमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्नेछ ।

हेर्नुस टिजर :