कास्कीकोटमा शुभमुहूर्त गर्दै ‘पुजार सार्की’को छायांकन सुरु

कास्कीकोटमा शुभमुहूर्त गर्दै ‘पुजार सार्की’को छायांकन सुरु

द सिनेमा टाइम्स
427
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक दिनेश राउतको निर्देशनमा निर्माण हुने सिनेमा ‘पुजार सार्की’को शुभमुहूर्तसँगै छायांकन सुरु गरिएको । यो सिनेमामा तीन स्टार अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ काम गर्न लागेका छन् । मंगलवार कास्कीकोटमा शुभमुहूर्त गर्दै सिनेमाको छायांकन सुरु गरिएको हो ।

आइतबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै कास्कीकोट गाउँ पुगेको थियो । सिनेमाको छायांकन पनि सोही गाउँमा हुनेछ । निर्देशक राउतले यो सिनेमालाई जातीय विभेद विरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा संघर्षको कथा रहेको बताए । यो सिनेमालाई विकास सुवेदीले लेखेका हुन् । यसअघि विकास र दिनेशले ‘प्रकाश’मा सहकार्य गरेका थिए ।

सिनेमामा अभिनेत्री अन्जना बराइली र परीक्षा लिम्बुको पनि मुख्ख भूमिका रहनेछ । सिनेमामा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको अभिनय रहनेछ ।

दर्शकको रोजाइका तीन स्टारहरू एकसाथ सिनेमामा आउन लागेको खबर बाहिरिएदेखि नै पुजार सार्की चर्चामा छ । यो सिनेमाले दर्शकमा छोड्ने छाप पनि स्मरणीय हुने अपेक्षा गरिएको छ । सिनेमालाई संगीतकार सुवास भुसालले निर्माण गर्दैछन् । एक दर्जन सिनेमामा संगीत दिएका भुसालले पहिलो पटक सिनेमा निर्माण गर्न लागेका हुन् । यो सिनेमाका लागि पनि निर्माता भुसाल आफैले संगीत तयार गरेका छन् ।

राजेश श्रेष्ठको डिओपी रहने ‘पुजार सार्की’मा सुप्रिम पराजुलीको सम्पादन तथा कलर ग्रेडिङ, उत्तम न्यौपानेको साउण्ड डिजाइन, शैलेश श्रेष्ठको ब्याकराउण्ड स्कोर, कसम नेपालको प्रोडक्शन डिजाइन, मनोज जोशीको प्रोडक्शन कन्ट्रोल र प्रोडक्शन व्यवस्थापन विदुर मानन्धरले गर्नेछन् ।

किङ्गडम नेटवर्कको ब्यानरमा बन्ने सिनेमामा हिमाल केसी द्वन्द्व निर्देशन, दिनेश बहादुर रावत मुख्य सहायक निर्देशक, राजेश राज गिरी, तर्क राज न्यौपाने र आयुष दाहाल सहायक निर्देशक, दिनेश लामा कला निर्देशक, माधव प्रसाद पाण्डे र प्रिया रोक्काको मेकअप रहनेछ ।