रुचाइयो सौरभ चौधरी निर्देशित ‘अगस्त्य’को टिजर, सौगातको अभिनयको तारिफ

रुचाइयो सौरभ चौधरी निर्देशित ‘अगस्त्य’को टिजर, सौगातको अभिनयको तारिफ

द सिनेमा टाइम्स
98
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाली सिनेमा क्षेत्रमा पछिल्लो समय समाजिक कमेडी सिनेमाको दबदबा कायम छ । साथै, दर्शकको रोजाईमा पनि टिपिकल सामाजिक कमेडी सिनेमा नै परिरहेका छन् । नेपाली सिनेमाका अधिकांश निर्माता निर्देशकको रोजाईमा मौलिक कथा परिरहदा एक्सन र लभस्टोरी सिनेमा मिस भैरहेका थिए ।

कोरोना महामारी पश्चात बलिउड र दक्षिण भारतीय सिनेमा उद्योगले एक्सन सिनेमालाई प्राथमिकता दिन थाले र ट्रेण्डलाई दर्शकले रुचाए पनि । बलिउड र दक्षिण भारतीय सिनेमाका एक्सन सिनेमामा नेपाली दर्शकको चाप देखिएपटि नेपालमा पनि एक्सन सिनेमा निर्माण घोषणाको ट्रेण्ड सुरु भएको छ ।

अर्को वर्ष नेपालमा पनि एक्सन सिनेमाको निर्माण लहर चल्ने देखिन्छ । यसले नेपाली सिनेमा दर्शकको चाप बढ्नुका साथै सिनेमा निर्माणको ट्रेन्ड नै परिवर्तन हुने विश्लेषण भइरहेको छ । आगामी फागुन १८ गतेदेखि प्रदर्शन हुन लागेको एक्सन सिनेमा ‘अगस्त्य’प्रति दर्शकको अपेक्षा उच्च देखिएको छ ।

यही हप्ता सार्वजनिक भएको टिजरपछि सिनेमाको एक्सन र मेकिङलाई लिएर चर्चा भइरहेको छ । टिजरलाई युट्युबमा दर्शकबाट मिलेको तारिफ हेर्दा त्यसको प्रभाव बक्स अफिसमा पर्ने सम्भावना देखिएको छ । टिजर हेरेपछि धेरैले नेपाली सिनेमाको लेभल बढेको भन्दै तारिफ गरिरहेका छन् ।

सिनेमाको सार्वजनिक टिजरमा अभिनेता सौगात मल्लले अत्याधिक तारिफ पाइरहेका छन् । उनको फरक-फरक गेटअप र एक्सन अवतारलाई दर्शकले रुचाएका हुन् । कतिले सिनेमालाई हिन्दीमा डब गर्न समेत सुझाव दिनुका साथै टिजरमा समावेश दृश्य र ब्याकग्राउन्ड म्यूजिक उत्कृष्ट भएको प्रतिक्रिया दिएका छन् ।

यो सिनेमाको टिजरलाई मिलेको प्रतिक्रियाहरु हेर्दा नेपाली दर्शकहरु पनि एक्सन सिनेमाको पखाईमा रहेको बुझ्न सकिन्छ । सौरभ चौधरीको निर्देशनमा निर्माण भएको सिनेमामा सौगातको जोडी अभिनेत्री मलिका महतसँग बाँधिएको छ ।

सिनेमाको एउटा पार्टमा उनी मानसिक सन्तुलन गुमेको चरित्रमा देखिनेछन्, जुन दर्शकका लागि ‘सरप्राइज प्याकेज’ हुने निर्माण टिमको विश्वास छ । सिनेमामा नाजिर हुसेन, प्रमोद अग्रहरी, निश्चल बस्नेत, विजय बरालको पनि अभिनय छ । यो सिनेमाको दोस्रो श्रृंखला पनि निर्माण गर्ने तयारी छ ।

डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको सिनेमाका लेखक तथा निर्देशक सौरभ चौधरी हुन् । प्रकाश मल्ल, अनिष तामाङ र विनोद पौडेल निर्माता रहेको सिनेमाका कार्यकारी निर्मातामा विश्व गौचन र अभिषेक चौधरी छन् ।