ज्ञानेन्द्र देउजा निर्देशित ‘उपहार’को मर्मस्पर्शी गीत सार्वजनिक

ज्ञानेन्द्र देउजा निर्देशित ‘उपहार’को मर्मस्पर्शी गीत सार्वजनिक

द सिनेमा टाइम्स
210
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी फागुन २५ गतेबाट महाशिवरात्रीको अवसर पारेर प्रदर्शनमा आउने सिनेमा ‘उपहार’को मर्मस्पर्शी गीत सार्वजनिक गरिएको छ । ‘हारेको छैन’ बोलको गीतमा सिनेमाका तीन अभिनेत्रीहरु रेखा थापा, बेनिशा हमाल र पूजा शर्माको मनोभाव र परिघटनालाई दर्शाइएको छ ।

सार्वजनिक गीतमा अभिनेता मुकुन भुषाललाई गम्भीर रोग देखिएपछि उत्पन्न परिस्थितिको वरिपरि गीत बुनिएको छ । गीतमा रविन भुसालको स्वर, अर्जुन पोखरेलको संगीत तथा प्रमोद ढुङ्गानाको शब्द रचना छ । गीतले सिनेमा पारिवारिक कथामा आधारित रहेको संकेत गर्छ । पूजा र बेनिशा रेखाको बहिनीको भूमिकामा हुनसक्ने देखिन्छ ।

सिनेमामा रेखाको मुकुन, पूजाको समर्पण जंग कार्की र बेनिशाको तेज गिरीसँग जोडी बाँधिएको छ । उनीहरुबीचको प्रेमलाई पनि गीतमा देखाउन खोजिएको छ । सिनेमामा विष्णु कल्पित घिमिरेको छायांकन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद रहेको छ ।

रेखा फिल्मस् र कपनगढी फिल्मस्को प्रस्तुती तथा ज्ञानेन्द्र देउजा निर्देशित सिनेमामा शिशिर राणा, सुष्मा कार्की, अंशु महर्जन, विनोद कुमार पौडेल, मञ्जु श्रेष्ठ लगायतका कलाकारको पनि अभिनय रहेको छ । बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको सिनेमाका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् ।