anmol jasita

‘महाजात्रा’को दोस्रो पोस्टर सार्वजनिक

‘महाजात्रा’को दोस्रो पोस्टर सार्वजनिक

द सिनेमा टाइम्स
119
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी चैत्र ९ गते प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘महाजात्रा’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । सिनेमाको यसअघि सार्वजनिक पोस्टर हरिवंश आचार्यलाई खलपात्रको अवतारमा प्रस्तुत गरिएको थियो । निर्माण टिमले बिहीबार दोस्रो पोस्टर सार्वजनिक गर्दै सिनेमाप्रति कौतुलहता पैदा गर्ने प्रयत्न गरिएको छ ।

सिनेमामा भिलेन बनेका आचार्य दोस्रो पोस्टरमा झुम्म दाह्री पालेको स्वरुपमा छन् । सार्वजनिक पोस्टरमा विपिन कार्की, रविन्द्र सिंह बानिया र रविन्द्र झालाई पनि प्रस्तुत गरिएको छ । निर्माता टिमले सुरुदेखि नै हरिवंशलाई पब्लिसिटीको केन्द्रमा राखेको देख्न सकिन्छ । अघिल्लो पोस्टरमा हरिवंश ह्वीलचेयरमा बसेको क्यारेक्टरमा देखिएका थिए ।

षट्कोण आट्र्सले निर्माण गरेको सिनेमा जात्रा सिरिजको तेस्रो श्रृंखला हो । पैसा र शक्तिको कथावस्तुमा आधारित सिनेमामा मुख्य पात्रहरु पैसा कमाउन दौडधुप गर्छन् । सिनेमामा पैसा र खुशीको मानवीय स्वभावको चित्रण गर्ने प्रयास निर्देशक प्रदीप भट्टराईले गरेको देखिन्छ ।

बरिष्ठ हास्य अभिनेत हरिवंश ‘महापुरुष’ हिट भएपछि षट्कोण आर्ट्ससँग दोस्रो पटक टिमअप भएको हो । कार्यकारी निर्माता तथा अभिनेता रविन्द्रसिंह बानियाँले जात्रा सिरिजको यो तेस्रो भाग अझै रोचक र कौतुहलताले भरिपूर्ण हुने बताउँछन् ।

सिनेमामा अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको पनि अभिनय रहेको छ । म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता रहेको सिनेमाको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ ।

फिल्मको एक गीतमा अभिनेता अरुण क्षेत्री र मोडल आश्मा विश्वकर्मा देखिने छन् । सिनेमा जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायांकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल संगीतकार, शमशेर लामा शृङ्गार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर रहेका छन् ।