‘रङ्गेली’ले स्वतन्त्र नृत्य प्रतिस्पर्धा गर्ने, विजेतालाई स्मार्टफोन

‘रङ्गेली’ले स्वतन्त्र नृत्य प्रतिस्पर्धा गर्ने, विजेतालाई स्मार्टफोन

द सिनेमा टाइम्स
196
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी फागुन २५ गतेबाट महाशिवरात्रीको अवसर पारेर प्रदर्शनमा आउने सिनेमा ‘रङ्गेली’ले स्वतन्त्र नृत्य प्रतिस्पर्धा आयोजना गरेको छ ।

सिनेमाको अघिल्लो हप्ता सार्वजनिक भएको गीत ‘हातैले उघाएर’ मा नृत्य गरेर आफ्नो फेसबुक वा इन्स्टाग्राममा पोस्ट गर्दा उत्कृष्ट फिचरसहितको युमिडिजी स्मार्टफोन प्राप्त गर्न सकिने सिनेमाका कार्यकारी निर्माता जीतेन्द्र खतिवडाले बताए ।

प्रतिस्पर्धामा सहभागी हुनेमध्ये सबैभन्दा धेरै लाइक र भ्यूज प्राप्त गर्ने भिडियोमध्ये दुई जनाले स्मार्टफोन जित्नेछन् । त्यसका लागि भिडियो पोस्ट गर्दा आफ्नै सोसल मिडिया हुनुपर्ने र सिनेमाको नामसहित प्रदर्शन मिति मेन्सन गर्नुपर्ने सर्त राखिएको छ । भिडियो आगामी माघ २७ गतेसम्ममा सामाजिक सञ्जालमा पोस्ट गरिसक्नुपर्नेछ । विजेताले सिनेमाका कलाकारबाट स्मार्टफोन प्राप्त गर्नेछन् ।

गीतमा अर्जुन सुवेदीको शब्द, हर्कुलस बस्नेतको संगीत तथा निशान भट्टराई र लिला गजमेरको स्वर रहेको छ । शिशिर खातीको कोरियोग्राफी रहेको गीतको भिडियोमा अभिनेत्री शिल्पा मास्के र मोडल प्रिन्स विश्वकर्माले नृत्य गरेका छन् ।

सिनेमामा दयाहाङ राई, अर्पण थापा, मिरुना मगर, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको अभिनय रहेको सिनेमालाई अर्जुन सुवेदीले निर्देशन गरेका हुन् ।

सिनेमाको कार्यकारी निर्माता जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् भने निर्माताहरु संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् । त्यस्तै, युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्मातामा छन् । विवेक खड्का (योलो) एशोसियट निर्माता रहेको सिनेमाका छायाँकार सुशन प्रजापति हुन् ।