‘हात्तीछाप’को कथावस्तुको बिषयमा यस्तो भन्छन् दयाहाङ र उपासना

‘हात्तीछाप’को कथावस्तुको बिषयमा यस्तो भन्छन् दयाहाङ र उपासना

द सिनेमा टाइम्स
91
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता दयाहाङ राईलाई अहिले सिनेमा प्रचार र छायांकनको चटारो छ । उनले बिहीबार दिनभरी माघ २६ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘दयारानी’ र ‘हात्तीछाप’को प्रचारका लागि समय दिएका थिए । दुवै सिनेमाप्रति उनमा उत्साह देखिन्थ्यो । आज शुक्रबारबाट उनी सिनेमा ‘मनसरा’को छायांकनमा जोडिएका छन् । यो सिनेमाको छायांकन सकिएपछि उनी ‘घरज्वाईं’को छायांकनमा जोडिनेछन् ।

बिहीबार पत्रकारसँग कुरा गर्दै दयाहाङले ‘हात्तीछाप’ उत्कृष्ट बनेको दाबी गरेका छन् । ‘यो सिनेमाको मुख्य उद्देश्य त व्यवसायिकता नै हो । तर पनि सिनेमाले समाजका विभिन्न यथार्थपरक विषयवस्तुलाई समेट्न खोजेको छ । यो सिनेमा उत्कृष्ट बनेको मेरो बुझाई छ । यसैले पनि म उत्साहित छु । ‘सिनेमाको कथावस्तु, चरित्र र टिम मन परेर काम गरेको बताउँदै उनले दर्शकलाई फरक स्वाद मिल्ने विश्वास व्यक्त गरेका छन् ।

सिनेमाले पैसाको कथालाई पनि उठाएको दयाहाङको तर्क छ । ‘यो अहिलेको समयको कथा हो । ठ्याक्कै भन्दाखेरि पैसाको कथा हो । सिनेमाको मर्म पनि लगभग यही हो,’ उनी अगाडि भन्छन्, ‘मलाई भोलिका दिनमा पनि ‘हात्तीछाप’ जस्तो सिनेमा गरेको थिएँ भनेर गर्व महसुस नै हुन्छ होला । भन्नुको अर्थ म यो सिनेमाबाट सन्तुष्ट छु ।’ सिनेमाको कथामा छुट्टै संसार रहेको उनको दाबी छ ।

सिनेमामा दयाहाङको जोडीको रुपमा रहेकी अभिनेत्री उपासना सिंह ठकुरीले हात्तीछापको कथावस्तु शक्तिशाली रहेको बताएकी छन् । उनी भन्छिन्, ‘यो सिनेमाले नेपाली दर्शकलाई भावनामा जोड्छ । यसलाई व्यवसायिक सिनेमाको रुपमा मात्र हेर्नु हुँदैन जस्तो मलाई लाग्छ । सबै नेपालीले भोगेको एउटा विषयलाई लिएर सिनेमा बनाइएको छ । भावनात्मक रुपमा पनि सिनेमा एकदमै सशक्त छ ।’

सिमोस सुनुवारको निर्देशन र किरण नेपालीको प्रस्तुति रहेको सिनेमामा दयाहाङ र उपासनाका साथै सौगात मल्ल, बेनिशा हमाल, विजय बराल, विल्सन विक्रम राई, वुद्धि तामाङ, विनोद न्यौपाने, भोलाराज सापकोटा, सुष्मा निरौला, रेयर राई लगायतको पनि अभिनय छ । कलाकारको लाइनअप बलियो भएकाले सिनेमाले बक्स अफिसमा राम्रो व्यापार गर्ने अपेक्षा निर्माण टिमको छ ।