सय दिनको बाटोमा ‘दिमाग खराब’, पार गर्‍यो ८८ औं दिन

सय दिनको बाटोमा ‘दिमाग खराब’, पार गर्‍यो ८८ औं दिन

द सिनेमा टाइम्स
224
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कार्तिक २४ गते रिलिज भएको ‘दिमाग खराब’ले व्यापारिक सफलता हात पारे यता कुनै पनि नेपाली सिनेमाले हलमा गतिलो व्यापार गर्न सकेका छैनन् ।

त्यसयता रिलिज भएका जम्प, दुई कदम, चित्रा र पर्खी बसें तिमीलाई नेपाली सिनेमा बक्सअफिस असफल भएका छन् । तीमध्ये कति सिनेमाले त हलमा १-२ दिन भन्दा बढी टिक्न सकेनन् । तर ‘दिमाग खराब’ भने केही सिनेमा हलमा कार्तिक २४ देखि निरन्तर नियमित प्रदर्शनमा रहेका छन् । यो सिनेमा हाल नियमित प्रदर्शनको ८८ औं दिनमा रहेको छ ।

यसले सिनेमाले एक सय दिन मनाउने लक्षण देखाएको छ । हाल निश्चल बस्नेत निर्देशित सिनेमा रञ्जना न्यूरोड, विश्वज्योति जमल तथा भिएफएक्स सिनेमाज् घोराहीमा प्रदर्शन भइरहेको छ । यी मध्ये रञ्जना र भिएफएक्समा एक शो दिइएको छ भने विश्वज्योतिमा २ शो दिइएको छ ।

सिनेमाले समीक्षकीयरुपमा पनि राम्रो तारिफ पाएको थियो । सिनेमामा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, विजय वराल, सुमन कार्की आदिको मुख्य अभिनय रहेको छ । सिनेमाले हालसम्म १० करोडमाथिको व्यापार गरिसकेको छ ।

सिनेमा आर्ट्सको ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता रौनक विक्रम कडेल हुन भने कार्यकारी निर्मातामा सुरज बम मल्ल ठकुरी रहेका छन् । काठमाडौंमा सिनेमाका वितरक गोविन्द शाही हुन् भने काठमाडौं बाहिर मनोज राठी हुन् । आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको सिनेमा राजनीतिक विषयमा केन्द्रित रहेर निर्माण भएको हो ।

सिनेमामा सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ ।