लक्ष्मण सुवेदीको ‘सतीदेवी’ सौराहा दक्षिण एसियाली सिनेमा महोत्सवमा उत्कृष्ट

लक्ष्मण सुवेदीको ‘सतीदेवी’ सौराहा दक्षिण एसियाली सिनेमा महोत्सवमा उत्कृष्ट

द सिनेमा टाइम्स
70
Shares

द सिनेमा टाइम्स, काठमाडौं – चितवनको सौराहामा माघ १८ देखि २२ गतेसम्म ‘सौराहा दक्षिण एसियाली सिनेमा महोत्सव’को आयोजना भएको थियो । यो महोत्सवमा लक्ष्मण सुवेदी निर्देशित सिनेमा ‘सतीदेवी’ले दुई विधामा अवार्ड जितेको छ ।

सिनेमाले ५० हजार नगदसहित सर्वोत्कृष्ट सिनेमा र स्वर्गिय शिव रेग्मीको नाममा समर्पित ‘शिव रेग्मी सर्वोत्कृष्ट निर्देशक’को अवार्ड जितेको हो । अवार्ड लिन निर्देशक सुवेदी स्वयं स्टेज चढेका थिए । त्यसैगरी, सर्वोत्कृष्ट सम्पादकको अवार्ड सिनेमा ‘नाङ्गो गाउँ’बाट बनिशा शाहले जितेका छन् ।

त्यस्तै, महोत्सवमा सर्वोत्कृष्ट वृतचित्र अवार्ड डाक्टर सचिन घिमिरे र गौरव केसीद्वारा निर्देशित ‘म अलप हुन चाहन्छु’ले प्राप्त र्गयो भने सर्वोत्कृष्ट लघु सिनेमाको अवार्ड प्रदीप पोखरेलले निर्देशन गरेको ‘स्नो लियो पार्ड’ले प्राप्त गरेको छ । यी दुवै विधाको पुरस्कार राशी जनही २५ हजार थियो ।

महोत्सवमा सर्वोत्कृष्ट छायांकार ‘बिच्छेद’बाट संकल भुजेल तथा सर्वोत्कृष्ट लेखन ‘बिच्छेद’बाटै सत्यराज चौलागाईं र मुकुन भुसालले प्राप्त गरे भने रोशनकुमार श्रेष्ठद्वारा निर्देशित गीति सिनेमा ‘भाग्य’ले ‘जुरी इन्करेजमेन्ट अवार्ड’ जित्यो । महोत्सवमा दक्षिण एसियाली मुलुकहरुबाट ४० भन्दा बढी सिनेमा सहभागी भएकोमा २० वटा मात्र प्रदर्शन गरिएको आयोजक विमल पौडेलले जानकारी गराए ।

यो महोत्सवको उद्घाटनमा नीर शाह, शिव श्रेष्ठ लगायत सहभागी थिए । महोत्सवमा सिनेमाको निर्णायक समितिको संयोजकमा निर्देशक एवं सम्पादक लभ प्याकुरेल रहेका थिए भने सदस्य टिममा नेपाल पत्रकारिता विकास समाजका अध्यक्ष एवं दैनिकी डटकमका प्रधान सम्पादक माधवप्रसाद तिवारी र निर्देशक समाजकी निवर्तमान अध्यक्ष एवं निर्देशक रक्षा सिंह राणा थिइन् ।