‘गोर्खा वारियर’को गीत ‘जय जय गोर्खाली’ सार्वजनिक

‘गोर्खा वारियर’को गीत ‘जय जय गोर्खाली’ सार्वजनिक

द सिनेमा टाइम्स
98
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मिलन चाम्सको निर्देशनमा निर्माण भएको सिनेमा ‘गोर्खा वारियर’को गीत ‘जय जय गोर्खाली’ सार्वजनिक गरिएको छ । गोर्खा सैनिकको बहादुरीको बखान गरिएको गीतमा राजेशपायल राईको स्वर तथा पूर्व आईजीपी शैलेन्द्र खनाल शदरको शब्द रचना र एलिस कार्कीको संगीत छ ।

सिनेमाभित्रको द्वन्द्वका दृश्य समावेश गरिएको गीतले सिनेमाको कथा बोल्ने निर्देशक चाम्सले बताए । आगामी फागुन ११ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने सिनेमामा विजय लामा, रितेश चाम्स, शिशिर वाङ्देल, रेविका गुरुङ, रियर राई, सारा राई, कविता आले, सुरज तमु, विरुप गोले, सरोज खालिङ, सुमिन गुरुङ, त्रिचु राई लगायतको अभिनय छ ।

गोर्खा सैनिकले सन् १९४९ मा ‘मलाया इमरजेन्सी जंगल वार’मा देखाएको बहादुरीको कथामा आधारित भएर सिनेमा बनेको हो । गत भदौमा बेलायतस्थित प्रतिष्ठित ‘आइम्याक्स सिनेवल्र्ड’मा प्रिमियर गरिएको सिनेमाको आगामी फागुन ५ गते लाहुरेको सहर भनेर चिनिने धरानमा पनि प्रिमियर गरिँदैछ ।

त्यसपछि पोखरामा र फागुन ९ गते काठमाडौंमा प्रिमियर गर्ने निर्देशक चाम्सको योजना छ । हिन्दी र अंग्रेजी भाषामा पनि तयार भएको सिनेमालाई अन्तर्राष्ट्रिय बजारमा एक अमेरिकी कम्पनीले वितरण गर्ने जनाइएको छ । निर्देशक चाम्स र गिरीराज घिमिरेको संयुक्त लेखन रहेको सिनेमाको निर्मातामा सुमन राई र सुस्मिता वाइवा छन् ।

गोर्खा वारियरको कार्यकारी निर्माता प्रशान्त थापा र राजेन्द्र घिमिरे र सुरेश राई सह-निर्मातामा छन् । सिनेमामा सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन र मिलन श्रेष्ठको सम्पादन रहेको छ । निर्देशक चाम्सले विश्वलाई गोर्खाली सैनिक चिनाउन सिनेमा निर्माण गरेको बताएका छन् । सिनेमालाई नेपालमा रिच इन्टरटेनमेन्टले वितरण गर्दैछ ।