प्रिमियरमा ‘दयारानी’लाई प्रशंसैप्रशंसा, पढ्नुहोस् कसले के भने

प्रिमियरमा ‘दयारानी’लाई प्रशंसैप्रशंसा, पढ्नुहोस् कसले के भने

द सिनेमा टाइम्स
588
Shares

द सिनेमा टाइम्स, काठमाडौं । बिहीबार राजधानीमा भएको प्रिमियरमा ‘दयारानी’ सिनेमाले प्रशंसा बटुलेको छ । माओत्से गुरुङ निर्देशित तथा दयाहाङ राई तथा दीया पुन स्टार सिनेमाले आफ्नो कथा, प्रस्तुति तथा कलाकारको अभिनयका लागि तारिफ बटुलेको हो ।

सिनेमाको प्रिमियरमा नेपाली रजतपटसँगै राजनीतिक अनुहारहरुसमेतको उल्लेख्य उपस्थिति रहेको थियो । सिनेमाका निर्देशक गुरुङसँग विद्यार्थीकालिन समयदेखि परिचित रहेका पूर्व स्वास्थ्य मन्त्री तथा एमाले प्रमुख सचेतक पदम गिरीले सिनेमा आफूलाई मनपरेको बताए ।

‘हाम्रो नेपाली समाज त्यसमा पनि गुरुङ समाज र संस्कृतीको बारेमा यो सिनेमाले बाहिर ल्याउने कोशिस गरेको छ । महिलाले एउटा बच्चा जन्माउन सकेन वा जन्मेन भने समाजले कति धेरै हेप्छ, कुरा काट्छ र एउटा महिलाको मनोबल कसरी गिराउँछ भन्ने कुरा यो सिनेमाले नजिकबाट देखाएको छ’ प्रिमियरपछि गिरीले भने ।

निर्देशक तथा वितरक अशोक शर्माले सिनेमा राम्रो बनेको अभिनयबाट निर्देशनमा डेव्यु गरेका माओत्से गुरुङको काम एकदमै तारिफ योग्य छ भन्दै सिनेमा राम्रो बनेको प्रतिक्रिया दिए ।

‘उहाँलाई धेरै धेरै बधाई भन्छु दर्शकलाई एउटा राम्रो सिनेमा दिएकोमा, कलाकारहरु सवैले राम्रो काम गर्नु भएको छ’, उनले भने ।

अभिनेता खगेन्द्र लामिछानेले आफूलाई सिनेमा एकदमै रमाइलो लागेको बताए ।

‘सिनेमा हेरिरहँदा समय बितेको पत्तै हुँदैन । सिनेमाले सामाजिक पक्ष रमाइलो पाराले भनिएको छ । दर्शकलाई मन पर्न सक्छ । अल्छी लाग्दैन दर्शकलाई भन्नेमा विश्वस्त छु । सबै कलाकारले नेचुरल काम गर्नु भएको छ ।’

निर्देशक तथा कोरियोग्राफर रेनेशा वान्तवा राईले सिनेमाको टिजर र ट्रेलरले वाचा गरेअनुरुपको सिनेमा बनेको भन्दै दर्शकलाई हेर्न सिफारिस गरिन् ।

‘टिजर र ट्रेलर जुन किसिमको बनेको थियो त्यही किसिमको र त्यति नै राम्रो सिनेमा पनि बनेकाले सवै दर्शकलाई यो सिनेमा एक पटक हेर्न सम्पूर्ण दर्शकलाई हेर्न सिफारिस गर्छु । साथै, धेरै सिनेमाको टिजर र ट्रेलर एक किसिमको र सिनेमा अर्कै भन्ने भएकाले पनि यो सिनेमा त्यो भन्दा विपरित पाए’, उनले भनिन् ।

यस्तै, आफ्नी आमासहित प्रिमियरमा आएकी अभिनेत्री प्रियंका कार्कीले ‘दयारानी’मा कासीको भुमिकामा अभिनय गरेकी अभिनेत्री नयन गुरुङको अभिनय निक्कै मन परेको बताइन् ।

उनले ‍कासी पात्रको ‘ए होर आफु को हो र ?’ भन्ने संवाद बोल्दै नयनको तारिफ गरिन् । अभिनेत्री केकी अधिकारले पनि आफुलाई यो सिनेमा मन परेको बताइन् ।

सिनेमामा ‘दयारानी’को शीर्ष भुमिकामा काम गरेकी अभिनेत्री दीया पुनले प्रिमियर शोबाट पाएको प्रतिक्रियाले निक्कै खुशी बनिन्।

उनले आफुले एकदम राम्रो प्रतिक्रिया आएको बताइन् ।

‘सिनेमाको कथा निकै राम्रो छ । सिनेमा पर्दामा आफुलाई हेरिरहँदा दीया पुन भन्दा पनि सिनेमाकी पात्र दयारानीलाई नै देखें।’

आफ्नो सिनेमा आफैलाई कस्तो लाग्यो भन्दा उनले यस्तो बताएकी हुन् । यसैगरी प्रिमियरमा सहभागी अन्यहरुले सिनेमा राम्रो बनेको प्रतिक्रिया दिएका थिए ।

बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् । सिनेमामा दयाहाङ र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिष्टी गुरुङ लगायतका कलाकार पनि अभिनय छ ।

मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् । सिनेमाको कास्टिङ डारेक्टर मणिराम पोखरेल हुन् । सिनेमालाई नेपालमा प्रचण्डमान श्रेष्ठको कम्पनि टिफल्क फिल्मस् र विदेशमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्नेछ ।