‘हात्तीछाप’ हेरेपछि निश्चल र स्वस्तिमाले के भने ?

‘हात्तीछाप’ हेरेपछि निश्चल र स्वस्तिमाले के भने ?

द सिनेमा टाइम्स
49
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक निश्चल बस्नेत तथा अभिनेत्री स्वस्तिमा खड्काले ‘हात्तीछाप’ सिनेमा मनोरञ्जक तथा रमाइलो बनेको प्रतिक्रिया दिएका छन्।

प्रिमियरमा सिनेमा हेर्न नभ्याएका उनीहरुले शनिबार राति काठमाडौंको बिग मुभिजमा सिनेमा हेरेपछि यस्तो ‘फिल्म हेरेपछि हात्तीछाप भनेको के रहेछ भन्ने बुझ्ने मौका पाएँ । यही कुरा नै फिल्ममा रमाइलो रहेछ’, स्वस्तिमाले भनिन्।

‘हात्तीछाप’लाई मनोरञ्जनात्मक सिनेमा बताउँदै निश्चलले आफूलाई सिनेमा ठिकै लागेको बताए। ‘मलाई फिल्म ठिकै लाग्यो । अझै राम्रो हुन सक्थ्यो भन्ने लागेको छ । तर, फिल्म रमाइलो छ । हेर्दा ठाउँ ठाउँमा हँसाइरहेको थियो’, उनले भने।

उपासना र बुद्धि दर्शक प्रतिक्रिया बुझ्न हलमा

शुक्रबारबाट प्रदर्शनमा आएको अभिनेता दयाहाङ राई र सौगात मल्ल स्टारर सिनेमा ‘हात्तीछाप’ले घरेलु बक्स अफिसमा सुखद कमाइ गरेको दाबी वितरक रोहित कट्टेलको छ । आगामी दिनमा पनि सिनेमाको व्यापारको स्थिर रहने उनको आश छ ।

शनिबार राजधानीको एफक्यूब हलमा पुगेका दर्शकले सिनेमा राम्रो बनेको प्रतिक्रिया दिएको प्रस्तुतकर्ता किरण नेपालीले बताए । ‘सिनेमाले देशको समसामयिक कथावस्तुलाई प्रस्तुत गरेको भन्दै दर्शकहरुले उत्कृष्ट रहेको प्रतिक्रिया दिए’ प्रस्तुतकर्ता नेपालीले भने ।

सिनेमा हेरेर फर्किएका केही दर्शकले भने ‘हात्तीछाप’को कथावस्तु नयाँ रहेको भन्दै सिक्वेलको प्रतिक्षा रहेको बताए ।

दर्शक प्रतिक्रिया बुझ्न हल पुगेकी अभिनेत्री उपासनासिंह ठकुरीले राम्रो प्रतिक्रिया पाएको भन्दै खुशी व्यक्त गरिन् । उनले भनिन्, ‘मलाई राम्रो प्रतिक्रिया आइरहेको छ । दर्शकले मेरो भूमिका र सिनेमालाई नै मन पराउनु भएको छ । म निकै नै उत्साहित छु ।’

 

उनले सिनेमाले गाउँको एउटा सुन्दर प्रेमकथा र बोतल राजाको कथालाई प्रस्तुत गरेको भन्दै सबैलाई हेर्न आग्रह गरिन् । यस्तै, कलाकार बुद्धि तामाङले पनि दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलेको बताए । उनले, पनि सिनेमाले पूर्णरुपमा मनोरञ्जन दिने भन्दै सबैलाई हेर्न आग्रह गरे ।

रेडबर्ड प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमामा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बिजय बराल, वुद्धि तामाङ, विल्सन विक्रम राई लगायतका कलाकारको अभिनय छ । सिनेमालाई सिमोस सुनुवारले निर्देशन गरेका हुन् ।

सिनेमामा प्रदीप भारद्वाजको लेखन, सुशन प्रजापतिको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ । किरन नेपालीको प्रस्तुती र सरोज नेपाली कार्यकारी निर्माता रहेको सिनेमाको निर्मातामा पुष्कर गुरुङ र अमलादेवी राई छन् । सिनेमालाई आरआर फिल्मस्ले नेपालमा र एमएसएमले विदेशमा वितरण गर्दैछ ।