‘दयारानी’को सप्ताहन्त व्यापार उत्साहजनक, यस्तो भन्छन् वितरक

‘दयारानी’को सप्ताहन्त व्यापार उत्साहजनक, यस्तो भन्छन् वितरक

सिनेमाको सुखद कारोबारले 'दयारानी'ले केही स्टेशनहरुमा शोहरु थप भएको छ ।

द सिनेमा टाइम्स
630
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आएको ‘दयारानी’ले नेपाली वक्सअफिसमा उत्साह संचार गरेको छ ।

सिनेमाको शुक्रबार र शनिबार वक्सअफिसमा कारोबार उत्साहजनक भएको जानकारी सिनेमाका वितरकले दिएका छन् ।

सिनेमाका वितरक प्रचण्डमान श्रेष्ठका अनुसार शुक्रबार सिनेमाले शुक्रबार मध्यान्हबाट मोफसलमा ८० प्रतिशतको अकुपेन्सी कायम गरेको थियो भने राजधानीमा ५० प्रतिशत माथिको अकुपेन्सी रह्यो ।

यस्तै रिलिजको दोश्रो दिन शनिबार शुक्रबारभन्दा अझ राम्रो कारोबार गरेको बताए । उनले सिनेमाको सुखद कारोबारले ‘दयारानी’ले केही स्टेशनहरुमा शोहरु थप भएको जानकारी दिए । निर्देशकको गृह जिल्ला पोखरामा शुक्रबार र शनिबार दिएका सवै शोमा दर्शकको ओभर फ्लो भएको थियो भने आइतबार पनि त्यो रफ्तार कायमै छ ।

माओत्से गुरुङको निर्देशकिय डेब्यू सिनेमाले सिनेमाको प्रमूख पुरुष पात्रले आफू कहिल्यै बाबु बन्न नसक्ने तथ्य लुकाउँदाको सामाजिक र पारिवारिक अवस्था र त्यसले निम्त्याउने परिस्थितिमा आफ्नो कथा पेस गरेको छ ।

सिनेमामा दयाहाङ राई तथा दीया पुनको प्रमूख भूमिका रहेको छ । उनीहरुका अलावा सिनेमामा नयन गुरुङ, शिरिषा कुँवर, पुष्कर गुरुङ, प्रमिश गुरुङ, विजय बराल आदिको अभिनय रहेको छ ।

बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् । मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् ।

सिनेमाको कास्टिङ डारेक्टर मणिराम पोखरेल हुन् । सिनेमालाई नेपालमा प्रचण्डमान श्रेष्ठको कम्पनि टिफल्क फिल्मस् र विदेशमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्नेछ ।