बेलायतमा नेपाल डेल्फिकद्वारा आयोजित तीन दिने सिनेमासम्बन्धी कार्यक्रम सम्पन्न

बेलायतमा नेपाल डेल्फिकद्वारा आयोजित तीन दिने सिनेमासम्बन्धी कार्यक्रम सम्पन्न

द सिनेमा टाइम्स
63
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बेलायतको लण्डनमा नेशनल डेल्फिक काउन्सिल नेपालले आयोजना गरेको ‘नेपाली सिनेमाको छ दशक, चुनौतीहरू र अर्न्तराष्ट्रिय बजारको खोजी’ विषयक कार्यक्रम सोमवार सम्पन्न भएको छ ।

शनिवारदेखि भएको कार्यक्रममा पहिलो दिन अन्तर्क्रिया र सिनेमा प्रदर्शनी, दोस्रो दिन बेलायतका लागि नेपाली राजदूतावासमा छलफल र तेस्रो दिन ब्रिटिस सिनेमा इन्स्टिच्युटका पदाधिकारीसँग छलफल र इन्स्टिच्युट भ्रमण कार्यक्रम रहेको थियो ।

यो कार्यक्रममा विकास बोर्डका अध्यक्ष भुवन केसीसहित नेपाल डेल्फिकका अध्यक्ष श्रीदेव बिएल, उपाध्यक्ष जीवन पराजुली र नेपाल तथा बेलायतबाट नेपाली सिनेमाकर्मीहरू सहभागी भएका थिए ।

बेलायतको बजारमा नेपाली सिनेमाको उपस्थिति, सम्भाव्यता, जटिलता, नेपाली डायस्पोराले खेलेको भूमिका, राज्यले गरेका प्रयासहरू, राज्यले निभाउनुपर्ने भूमिका, नेपाली सिनेमाको अर्न्तराष्ट्रिय बजारको लागि नेपाली डायस्पोरा कम्युनिटीले राज्यबाट गरेको अपेक्षा, नेपालको आर्थिक तथा सामाजिक विकासको लागि सिनेमाको अन्तर्राष्ट्रिय बजारको महत्त्व लगायतका विषयमा अन्तर्क्रिया भएको थियो ।

अन्तर्क्रियामा बोल्दै विकास बोर्ड अध्यक्ष भुवन केसीले प्रवासमा बस्ने सिनेमाकर्मीलाई नेपाली सिनेमाको बजारको अध्ययन गरेर मात्र सिनेमा निर्माण गर्न सुझाव दिए । ‘विदेशमा बस्ने मेकरले सिनेमा बनाएपछि नेपालमा पनि प्रदर्शनका लागि हल पाइँदैन भन्ने गुनासो सुन्ने गरेको छु । तर, सिनेमा बनाउनु अगाडि कसरी बनाउने, किन बनाउने र कसरी चलाउने भन्ने ज्ञान हुनुपर्छ । नेपालमा कति वटा हल छ ? नेपाली सिनेमाको मार्केट कति हो ? दर्शकले कस्तो सिनेमा रुचाउँछन् ? त्यसलाई पनि अध्ययन गरेर सिनेमा बनाउनु पर्छ’, उनले बताए ।

बेलायतमा रहने नेपाली सिनेमाकर्मीहरूले अन्तर्क्रियामा बोर्ड र समुदायसँग आफ्ना गुनासाहरू राखे । उनीहरूले युकेको बजारमा नेपाली सिनेमाको विस्तारको पहलको लागि रहेका जटिलताहरूका बारेमा प्रस्ट पारे । अन्तर्क्रियामा सिनेमाकर्मीहरू सहित करिब १५० जना विभिन्न क्षेत्र र समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

पहिलो दिनको कार्यक्रममा यो वर्ष नेपालबाट अस्करमा सिफारिस भएको तथा विभिन्न अन्तर्राष्ट्रिय अवार्ड विजेता नेपाली सिनेमा ‘हल्कारा’ प्रदर्शन गरिएको थियो । नेपाललाई प्राकृतिक रूपमा नै खुल्ला छायांकन स्थलको रूपमा विश्वव्यापी प्रचार गर्न विकास बोर्डले तयार गरेको श्रव्य दृश्य सामग्री प्रदर्शन भएको थियो ।

दोस्रो दिन आइतबार बेलायतका लागि नेपाली राजदूतावासमा राजदूत ज्ञानचन्द्र आचार्यसँग छलफल भएको थियो । सो क्रममा बेलायतमा नेपाली सिनेमा र बेलायतको बजारबीच दूतावासले पुलको रूपमा काम गर्न सक्ने, बेलायतमा नेपाली सिनेमाको प्रर्वधनमा दूतावासले गर्न सक्ने सहयोग तथा दूतावासले नेपाली कला र संस्कृतिको लागि सम्पर्क व्यक्ति तोक्ने लगायत दीर्घकालीन प्रभाव हुनसक्ने विषयमा राजदूत आचार्यले सकारात्मक प्रतिक्रिया दिँदै आफूले गर्न सक्ने काम अगाडी बढाउने बताए ।

कार्यक्रमको तेस्रो दिन सोमवार ब्रिटिस सिनेमा इन्स्टिच्युटका पदाधिकारीसँग नेपाली सिनेमाले बिएफआईसँग गर्नसक्ने सहकार्य, नेपाली सिनेमा बेलायतमा छायांकन गर्दा प्राप्त हुने सुविधाहरू, पुरानो प्रविधिमा बनेका सिनेमाहरूको संरक्षण, डिजिटाईजेशन र ती सिनेमाहरूलाई सहज रूपमा सर्वसाधारणमाझ ल्याउन बिएफआईले चालेका कदमहरूको विषयमा जानकारी लिइएको थियो ।

कार्यक्रमको विषयमा बोल्दै नेशनल डेल्फिक काउन्सिल नेपालका उपाध्यक्ष जीवन पराजुलीले सिनेमाको प्रवर्धन सिनेमाकर्मीमाझ मात्र गरेर नहुने जिकिर गरे । आगामी दिनमा नेपाली कला र संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउन विभिन्न कार्यक्रमहरू आयोजना गर्ने उनले बताए ।