‘अगत्य’ ट्रेलरमा सौगातले ४५ डिग्री तापक्रममा गरेको मेहनतको तारिफ

‘अगत्य’ ट्रेलरमा सौगातले ४५ डिग्री तापक्रममा गरेको मेहनतको तारिफ

द सिनेमा टाइम्स
105
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता सौगात मल्ल, नाजिर हुसेन र मलिका महत स्टारर सिनेमा ‘अगस्त्य च्याप्टर १’को ट्रेलरको चर्चा छ । फागुनको १८ गतेबाट विश्वव्यापी प्रदर्शनमा आउन लागेको सिनेमाको केही दिन अगाडी ट्रेलर सार्वजनिक भएको थियो ।

फर्स्टलुक र टिजर रिलिज भएदेखि नै कौतुहल्ता पैदा गर्न सफल सिनेमाले ट्रेलर रिलिज भएपछि दर्शकमाझ थप उत्सुकता पैदा गर्न सफल देखिएको छ । यो सिनेमाका लागि कलाकार सौगात मल्लले गरेको मिहिनेतको प्रशंसा भइरहेको छ । यो सिनेमाका लागि सौगातले आफ्नो तौल २० केजी घटाएर १० केजी बढाएका थिए । उनले तौल घटाएर बनाएको शरीर, ४५ डिग्री तापक्रममा पनि गरेको कामले तारिफ पाएको छ ।

अभिनेता सौगातको चरित्रमा देखिएको विविधताले दर्शकको मन जितेको छ । ट्रेलरमा उनलाई रोमान्टिक, एक्सन र मानसिक सन्तुलन गुमेको चरित्र गरी तीनवटा अवस्थामा देखाइएको छ । ‘अगस्त्य’मा उनले गरेको भूमिका लामो समयसम्म दर्शकमाझ छाप छोड्ने अनुमान लगाउन सकिन्छ ।

यसैगरी, अर्का अभिनेता नाजिरले सिनेमाकै लागि २० किलो तौल बढाएर चरित्रका लागि गरेको मेहनत देखाउँछ । सिनेमामा सौगात र नाजिरको एक्सन लुक्स, प्रमोद अग्रहरिको भिलेन लुक्स र निश्चल बस्नेतको झलकले पनि सिनेमाको महत्त्व बढाइदिएको छ ।

सिनेमाको टिजर र ट्रेलरमा प्रयोग गरिएको व्याकग्राउन्ड स्कोर उत्तिकै दमदार छ । कूल मिलाएर यो सिनेमाले सबैको ध्यान तान्न सफल भएको छ । फागुन ३ गते युट्युबमा सार्वजनिक भएको ट्रेलर ६ लाख १६ हजारभन्दा बढीले हेरेका छन् । करिब १४ सय जनाले प्रतिक्रिया दिनुका साथै ‘बहुमुखी अभिनेता सौगात मल्ल’ भन्दै प्रतिक्रिया दिएका छन् ।

सिनेमाका लेखक तथा निर्देशक सौरभ चौधरी र उनको टिमले ट्रेलर बनाउन धेरै मिहिनेत गरेका थिए । जसअनुसार सिनेमा क्षेत्रका मेकरहरुले सकारात्मक प्रतिक्रिया र दर्शकहरूको ट्रेलर प्रतिको उत्सुकताले आफूलाई थप जिम्मेवार बनाएको निर्देशक चौधरीको तर्क छ ।

विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता तथा प्रकाश मल्ल, अनिस तामाङ र विनोद पौडेल निर्माता रहेको सिनेमामा सञ्जय लामाको छायांकन, निर्देशक चौधरी स्वयंको लेखन, निमेष श्रेष्ठको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र एसडी योगीको संगीत छ ।

डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको यो सिनेमा फागुनको १८ गते नेपालसँगै विश्व भरबाट रिलिज हुनेछ ।