काठमाडौंबाट ‘मेयर’को छायांकन सुरु, खगेन्द्र र टीकाले दिए पहिलो सट

काठमाडौंबाट ‘मेयर’को छायांकन सुरु, खगेन्द्र र टीकाले दिए पहिलो सट

द सिनेमा टाइम्स
336
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दीपेन्द्र के खनालको निर्देशनमा निर्माण हुने सिनेमा ‘मेयर’को छायांकन सुरु भएको छ । बिहीबार काठमाडौंको एक होटलमा मेयर पात्रको दृश्य खिच्दै छायांकन सुरु गरिएको हो । अभिनेताद्वय खगेन्द्र लामिछाने र टीका पहारीले पहिलो सट दिएका छन् । खगेन्द्रले सिनेमामा मेयरको भूमिका निवार्ह गर्दैछन् । छायांकन सेटबाट प्राप्त तस्वीरमा उनले चश्मा लगाएका छन् ।

निर्माण टिम बिहीबार काठमाडौंको छायांकन सकाएर शुक्रबार सर्लाही जाने तयारीमा छ । फागुन १२ गते बागमती नगरपालिकाले शैक्षिक महोत्सवका साथै सांस्कृतिक कार्यक्रम गर्दैछ । सर्लाहीमा सिनेमाको पहिलो सिन त्यहीँ खिचिनेछ । सर्लाहीस्थित बागमती नगरपालिकाका मेयर भरत कुमार थापाको जीवन संघर्षमा आधारित भएर सिनेमा निर्माण हुन लागेकाले बागमतीमै सम्पूर्ण छायांकन हुनेछ ।

सिनेमामा खगेन्द्रले मेयर थापाको भूमिका निर्वाह गर्दैछन् । त्यसका लागि गत महिना उनले बागमतीमै बसेर मेयर थापाको स्वभाव, आनीबानी, कार्यशैली, व्यक्तित्वको बारेमा अध्ययन गरेका थिए । यो सिनेमामा उनको अपोजिटमा अभिनेत्री वर्षा राउतले अभिनय गर्दैछन् । पटकथा प्रडक्शनको ब्यानरमा बन्न लागेको सिनेमामा महेश दवाडीको पटकथा तथा कृष्ण बहादुर थापाको छायांकन रहनेछ ।

सिनेमामा अर्पण थापा, अनुप बराल, दिव्यदेव, हरिहर शर्मा, रवीन्द्र झा, प्रकाश घिमिरे, रमेश बुढाथोकी, सञ्जोग रसाइली, आशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बिसी लगायतको पनि अभिनय रहनेछ । यो सिनेमाबाट मेयर थापाकी छोरी अर्विशा थापाले डेब्यू गर्दैछिन् । निर्देशक खनालकी छोरी श्रृष्टिमाँ खनाल र शर्मिला पाण्डे निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता दीपेन्द्र स्वयं हुन् ।

‘मेयर’मा केही राम्रो काम गररै छोड्छु भन्ने दृढ सपना भएको मान्छेले कठीन परिस्थिति, घातप्रतिघातका बीचमा पनि संघर्ष गरेर समाजलाई आर्थिक, सामाजिक र शैक्षिक रुपमा कसरी राम्रो बाटोमा डोर्‍याउन सक्छ भन्ने विषयमा केन्द्रित हुने जनाएको छ । सिनेमा ‘मेयर’मा बिटिएस र स्टील फोटोग्राफी केशव पाण्डे/लक्षण पाण्डे र संगीत जे वाइवा र कल्याण सिंहको रहनेछ ।