शुक्रबारबाट प्रदर्शनमा आयो मिलन चाम्स निर्देशित ‘गोर्खा वारियर’

शुक्रबारबाट प्रदर्शनमा आयो मिलन चाम्स निर्देशित ‘गोर्खा वारियर’

द सिनेमा टाइम्स
21
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण भएको सिनेमा ‘गोर्खा वारियर’ आज शुक्रबारबाट नेपालभरका सिनेमा घरमा रिलिज भएको छ । गत भदौमा बेलायतमा प्रिमियर गरिएको सिनेमाको नेपालको धरान, पोखरा र काठमाडौं भव्य प्रिमियर शोको आयोजना गरिएको थियो । ‘गोर्खा वारियर’लाई ब्रिटिस प्रधानमन्त्री ऋषि सुनकले समेत शुभकामना दिएका थिए ।

प्रिमियरबाट राम्रो प्रतिक्रिया पाएको सिनेमाले दर्शकबाट पनि राम्रो प्रतिक्रिया पाउने आश निर्देशक चाम्सलाई छ । सिनेमाले देशभरका मल्टिप्लेक्स तथा सिंगल स्क्रिनमा राम्रो पाएको छ । दर्शकबाट राम्रो वर्ड अफ माउथ मिलेको खण्डमा शनिबारबाट सिनेमाको बढ्ने देखिन्छ । सिनेमाको राम्रो प्रचार प्रसार गरिएकाले सिनेमा हेर्न दर्शक हलसम्म पुग्ने विश्वास निर्माण टिमको छ ।

‘गोर्खा वारियर’लाई नेपालको पहिलो जंगल वार सिनेमा भनिएको छ । करिब ५ करोडमाथिको लागानीमा बनेको सिनेमा यो लगानी सुरक्षित गर्न घरेलू बक्स अफिसमा १० करोडमाथिको व्यापार गर्नुपर्ने हुन्छ । सिनेमा सोलो रिलिज भएको र प्रिमियरमा मिलेको सुखद् प्रतिक्रियाको प्रभाव बक्स अफिसमा देखिन सक्ने प्रक्षेपण छ ।

सन् १९४९ मा मलाया इमरजेन्सी जंगल वारमा नेपाली गोर्खा सैनिकले देखाएको बहादुरीको कथामा आधारित भएर निर्माण भएको सिनेमामा विजय लामा, रितेश चाम्स, रियर राई, रेविका गुरुङ, शिशिर वाङ्देल, कविता आले, सुरज तमु, विरुप गोले, त्रिचु राई, दिग्गज खत्री लगायतको अभिनय छ । यो सिनेमाले करिब ७० वर्ष अगाडिको नेपाली समाजको अवस्थालाई पनि चित्रण गरेको छ ।

निर्देशक चाम्स र गिरीराज घिमिरेको संयुक्त लेखन रहेको सिनेमाको निर्मातामा सुमन राई र सुस्मिता वाइवा छन् भने प्रशान्त थापा र राजेन्द्र घिमिरे कार्यकारी निर्माता हुन् । सुरेश राई सह-निर्मातामा छन् । सिनेमामा सुदीप बरालको छायांकन, हिमाल केसीको द्वन्द्व निर्देशन र मिलन श्रेष्ठको सम्पादन छ ।