ललितपुरमा ‘गोर्खा वारियर’ हेर्न र्‍याली, हर्क साम्पाङले पनि गरे सिनेमा हेर्न अनुरोध

ललितपुरमा ‘गोर्खा वारियर’ हेर्न र्‍याली, हर्क साम्पाङले पनि गरे सिनेमा हेर्न अनुरोध

द सिनेमा टाइम्स
63
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘गोर्खा वारियर’को अग्रीम टिकट बुकिङ कमजोर देखिए पनि आज दिउँसोबाट हलहरुमा दर्शकको चहलपहल बढेको छ । विशेषगरी समुदायगत दर्शकहरुको उपस्थिति राम्रो देखिएको छ । शुक्रबार दिउँसो सिनेमा हेर्नका लागि ललितपुरको सडकमा र्‍याली नै निकालिएको थियो ।

गौर्खा सैनिकको ट्रेनिङ दिने संस्थादेखि विभिन्न सुमुदायगत संघ-संस्थाका व्यक्तिहरुले जावलाखेल चोकबाट नारासहित निकालेको र्‍याली लबिम मल पुगेर टुंगिएको थियो । र्‍यालीमा ६ सयभन्दा बढी सहभागी थिए । र्‍यालीसहित सिनेमा हेर्न पुगेका दर्शकको चापले लबिम मलस्थित क्यूएफएक्स हलको १२ बजेको शो ‘हाउसफुल’ भएको छ भने बाँकी दर्शकका लागि ३ बजेको शो राखिएको छ ।

लबिम मल पुगेको र्‍यालीलाई सम्बोधन गर्ने क्रममा निर्देशक मिलन चाम्सले सिनेमालाई साथ दिन आग्रह गरेका थिए । उनले भने – ‘नेपालमा तीनवटा विषयमा धेरै सिनेमा बन्नुपर्छ । सगरमाथा, बुद्ध र गोर्खालीको कथामा । ‘गोर्खा वारियर’ले यसको सुरुवात गरेको छ । सबैले साथ दिनुहुनेछ भन्ने विश्वास छ ।’ सिनेमा हेर्न पूर्व गोर्खा सैनिक र उनीहरुका परिवारको पनि हलमा सुखद् उपस्थिति देखिएको छ ।

धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङ राईले पनि ‘गोर्खा वारियर’ हेर्न सामाजिक सञ्जालमार्फत अनुरोध गरेका छन् । धरान प्रिमियरमा फागुन ५ गते सिनेमा हेरेका उनले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘लाहुरेको परिवारले ‘गोर्खा वारियर’ सिनेमा हेरेन भने पाप लाग्न सक्छ । अनिवार्य हेर्नु गएर । आजदेखि नेपालभर प्रदर्शन हुँदैछ । अरुले पनि हेर्नु, नेपाली सिनेमा यत्तिको बनेको छैन । रुँदा-रुँदा हैरान भएँ अस्ति ।’

मलाया इमरजेन्सी जंगल वारमा सन् १९४९ मा नेपाली गोर्खा सैनिकले देखाएको बहादुरीको कथामा आधारित भएर निर्माण भएको सिनेमामा विजय लामा, रितेश चाम्स, रियर राई, रेविका गुरुङ, शिशिर वाङ्देल, कविता आले, सुरज तमु, विरुप गोले, त्रिचु राई, दिग्गज खत्री लगायतको अभिनय छ । यो सिनेमाले करिब ७० वर्ष अगाडिको नेपाली समाजको अवस्थालाई पनि चित्रण गरेको छ ।

निर्देशक चाम्स र गिरीराज घिमिरेको संयुक्त लेखन रहेको सिनेमाको निर्मातामा सुमन राई र सुस्मिता वाइवा छन् भने प्रशान्त थापा र राजेन्द्र घिमिरे कार्यकारी निर्माता हुन् । सुरेश राई सह-निर्मातामा छन् । सिनेमामा सुदीप बरालको छायांकन, हिमाल केसीको द्वन्द्व निर्देशन र मिलन श्रेष्ठको सम्पादन छ ।

चाम्स इन्टरटेनमेन्ट र लण्डन सिने आई प्रोडक्सनको व्यानरमा निर्माण भएको सिनेमालाई मिलन चाम्सले निर्देशन गरेका हुन् । प्रदर्शन अगाडी नेपाल र विदेशका विभिन्न ठाउँमा गरिएको प्रिमियरमा राम्रो प्रतिक्रिया पाएको थियो । जसको प्रभाव बक्सअफिसमा देखिने विश्वास निर्माण टिमलाई छ ।