निफको ओपनिङ सिनेमा आनीको जीवन प्रेरित ‘आनी छोइङ डोल्मा’

निफको ओपनिङ सिनेमा आनीको जीवन प्रेरित ‘आनी छोइङ डोल्मा’

द सिनेमा टाइम्स
7
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाल इन्टरनेसनल सिनेमा महोत्सव (निफ)को ओपनिङ सिनेमा आनी छोइङ डोल्माको जीवनी प्रेरित डकुमेन्ट्री ‘आनी छोइङ डोल्मा : नथिङ इम्पोसिबल’ रहने भएको छ । महोत्सव अध्यक्ष केपी पाठकले जेनिफर लिन र सान बाई निर्देशित डकुमेन्ट्री महोत्सवको उद्घाटनसँगै देखाइने सिनेमाको रुपमा रहेको जानकारी दिए ।

निर्देशक लिनले डकुमेन्ट्री आनीको स्वतन्त्रताको प्राप्तिको खोजको रुपमा पनि प्रस्तुत गर्ने प्रयास रहेको बताएकी छिन् । आनीको सांगीतिक यात्रा, भिक्षु जीवन र समाजसेवालाई डकुमेन्ट्रीले प्रस्तुतिको विषय बनाएको छ । ७ वर्ष लगाएर बनाएको डकुमेन्ट्री अहिले विश्वका सिनेमा महोत्सवमा आकर्षणको केन्द्र रहँदै आएको छ ।

हङकङको सिटी युनिभर्सिटीमा आम सञ्चारकी प्राध्यापक लिनले आनीलाई ७ वर्ष पछ्याएर यो डकुमेन्ट्री तयार गरेकी हुन् । सन् २०१० मा गरिबीमा हुर्किएका बालिकाको शिक्षाको लागि आनीले स्थापना गरेको आर्यतारा स्कुलको भ्रमण पश्चात डकुमेन्ट्री बनाउने सोच पलाएको र यसको ५ वर्षपछि काम थालेको लिनले अन्तर्वातामा बताएकी छिन् ।

डकुमेन्ट्रीले गत साल वार्सा इन्टरनेसनल सिनेमा महोत्सवमा एसियन प्यासिफिक अडियन्स अवार्ड र नेटप्याक अवार्ड जितेको थियो । डकुमेन्ट्री निफमा पनि माउन्ट एभरेस्ट अवार्डका लागि प्रतिस्पर्धामा रहेको छ । यो विधामा देश विदेशका १३ वटा डकुमेन्ट्री प्रतिस्पर्धामा रहेका छन् । विजेता सिनेमाले १ हजार नगद राशिको माउन्ट एभरेस्ट अवार्ड प्राप्त गर्नेछन् ।

चैत १ देखि ५ गतेसम्म चल्ने सिनेमा महोत्सवमा यो साल ४० देशका ८८ सिनेमा प्रदर्शन हुँदैछन् । प्रतिस्पर्धामा रहेका सिनेमाको प्रदर्शनसँगै महोत्सव अवधिभर सिनेमा निर्माणका विभिन्न विधासँग सम्बन्धित रहेर कार्यशाला, छलफल र अर्न्तक्रियाका कार्यक्रम पनि आयोजना गरिने पनि आयोजकले जनाएको छ । महोत्सवमा प्रदर्शन हुने सिनेमा क्यूएफएक्स सिनेमाका शाखाहरु सिभिल मल, लबिम मल, भक्तपुर र छायाँ सेन्टरका हलमा प्रदर्शन हुनेछन् ।