रामेछापमा ‘नेरुफ’को तेस्रो संस्करण आयोजना हुने

रामेछापमा ‘नेरुफ’को तेस्रो संस्करण आयोजना हुने

द सिनेमा टाइम्स
21
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाल ग्रामीण सिनेमा महोत्सव (नेरुफ)को तेस्रो संस्करण रामेछाप जिल्लामा हुने भएको छ । आगामी बैशाखमा रामेछाप नगरपालिकामा महोत्सव गर्न लागिएको आयोजक संस्था सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाले बताए ।

ग्रामीण परिवेशमा निर्माण भएका सिनेमालाई ग्रामीण क्षेत्रमा प्रवर्द्धन गर्ने उद्देश्य लिएको महोत्सवको चाँडै मिति घोषणा गरिने उनको भनाई छ । महोत्सवमा स्वदेशी फिचर सिनेमा, छोटो सिनेमा, डकुमेन्ट्री तथा विभिन्न भाषाभाषीका सिनेमा सहभागी हुन पाउनेछन् । त्यसका लागि सिनेमा दर्ता पनि खुल्ला गरिएको छ ।

महोत्सवमा जुरी टिमले छनोट गरेका सिनेमा स्क्रिनिङ गर्ने र उत्कृष्ट हुनेलाई अवार्ड समेत प्रदान गरिने जनाइएको छ । महोत्सवमा सहभागिता जनाउने सिनेमा ग्रामीण कथावस्तुमा निर्माण भएको हुनुपर्ने सर्त राखिएको छ । यो महोत्सव पहिलो संस्करण गोरखाको लाप्राकमा र दोश्रो संस्करण काभ्रेस्थित भकुन्डेबेसीमा भएको थियो ।

महोत्सवबारे अध्यक्ष सापकोटा भन्छन्, ‘ग्रामीण भेगका दर्शकलाई नेपाली सिनेमाप्रति आकर्षित गराउनु नै महोत्सवको मुख्य उद्देश्य हो । सिनेमा मार्फत् स्थानीय ठाउँको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न पनि महोत्सवले भूमिका खेल्नेछ भन्ने विश्वास लिएका छौं ।’