सेन्सर बोर्डले रोक्यो ‘रंगेली’, नाममा आपत्ति

सेन्सर बोर्डले रोक्यो ‘रंगेली’, नाममा आपत्ति

द सिनेमा टाइम्स
245
Shares

द सिनेमा टाइम्स, काठमाडौं – फागुन २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘रंगेली’को शीर्षकमा आपत्ति जनाउँदै केन्द्रीय चलचित्र जाँच समितिले सेन्सर पासको प्रमाणपत्र दिन अस्वीकार गरेको छ ।

यो विषयमा गृह मन्त्रालयको प्रतिनिधित्व गर्ने सेन्सर बोर्डका सदस्यले शीर्षकको संवेदनशीलतालाई लिएर आफूहरुले निर्माण टिमलाई सजग बनाएको बताए । ‘रंगेली नगरपालिकामा सिनेमा खिचेकाले स्थानीय सरकारको सहमति छ कि छैन भनेर हामीले बुझ्न खोजेका हौं । यसबारे हामी छलफलकै क्रममा छौं । छायांकन भएको थलोको सहमति पत्र ल्याएपछि मात्र उहाँहरुले प्रमाणपत्र पाउनुहुन्छ,’ उनले भने ।

उनले सिनेमाको विषयवस्तु र गुणस्तरभन्दा पनि शीर्षकप्रति आफूहरुको चासो रहेको बताए । सेन्सर बोर्डका अर्का सदस्य ऋषिराज आचार्यले ठाउँको संवेदनशीलतालाई लिएर आफूहरुले कन्सेन्ट पेपर खोजेको बताए ।

‘उहाँहरुले सहमति गर्नुभएको होला । सुटिङको लागि उहाँहरुले लिनुभएको अनुमति पत्र हामीलाई पेश गर्नुपर्छ । हाम्रो यो चासो उहाँहरुकै हितको लागि हो,’ आचार्यले भने, ‘सिनेमा राम्रै सन्देश दिने तरिकाले बनेको छ भने प्रश्न हुँदैन । तर नराम्रो तरिकाले चित्रण गरिएको छ भने सम्बन्धित ठाउँको छविमा असर पर्नसक्छ ।’

यसअघि केही सिनेमामा पनि नामका कारण स्थानीयहरूले आपत्ति जनाएपछि सेन्सर बोर्ड हच्किएको वुझिएको छ । सिनेमाका निर्देशक अर्जुन सुवेदीले आफूहरुले यो समस्या समाधान हुनेमा आशावादी रहेको बताए । सेन्सर बोर्डले केही दृश्य र संवाद मिलाएर आउनु भनेको उनले खुलाए ।

‘रङ्गेली’मा अर्जुन सुवेदीले लेखन तथा निर्देशन रहेको छ । सिनेमामा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको मुख्ख भूमिका रहेको छ । सिनेमाका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको संगीत रहेको छ ।

सिनेमाका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शंकर चौलागाईं सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति हुन् । सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस्ले वितरण गर्दैछ ।