विराजको ‘१२ गाउँ’मा ‘साहो’ भिलेन कनिजको इन्ट्री

विराजको ‘१२ गाउँ’मा ‘साहो’ भिलेन कनिजको इन्ट्री

द सिनेमा टाइम्स
1k
Shares

द सिनेमा टाइम्स, काठमाडौं – एक्सन सुपरस्टार विराज भट्टले आफ्नो महत्काक्षी होम प्रोडक्सन ‘१२ गाउँ’को खलनायकमा कनिज कोइरालाई अनुबन्धित गरेका छन् । कनिज ‘इन्टरनेश्नल म्यानहन्ट नेपाल-२००९’ सँगै पहिलो नेपली ग्ल्याडरक्स मोडलसमेत हुन् ।

नेपाली सिनेमाका लागि नयाँ भएपनि उनले ‘बाहुबली’ फेम प्रभासको ‘साहो’ तथा अर्का चर्चित दक्षिण भारतीय तेलेगु अभिनेता अधवी शेषको ‘गोडाचरी’ सिनेमामा खलनायकको भूमिकामा काम गरिसकेका छन् । यसका अलावा उनले अभिनेता विराजसँग भोजपुरी सिनेमामा ‘वध’मा मुख्य खलनायकको भूमिकामा अभिनय गरेका छन् ।

कनिजको ‘१२ गाउँ’ भने दोस्रो नेपाली सिनेमा हुनेछ । यसै साता यो सिनेमाको नायिकामा मिस नेपाल इन्टरनेशनल-२०२२ न्यान्सी खड्कालाई अनुबन्धन गरिएको थियो । चैतको दोश्रो साताबाट फ्लोरमा जाने तयारीमा रहेको सिनेमामा विराज भट्टले मूख्य अभिनेतासँगै निर्देशनसमेत गर्नेछन् ।

भोजपुरी सिनेमामा बेग्लै स्थान बनाइसकेका विराजले यही सिनेमाबाट आफ्ना छोरा समीर भट्टलाई डेब्यू गराउँदैछन् । केही समय अगाडि विराजले छोराको तस्विर सार्वजनिक गरेपछि अन्य धेरै नेपाली निर्माता उनको छोरालाई सिनेमा खेलाउन लालायितभएको बताइन्छ ।

हाल प्रि-प्रोडक्सनको चरणमा रहेको ‘१२ गाउँ‘ ठूलो बजेटमा तयार हुनेछ । सन्तोष सरकारको कथा तथा पटकथामा अभिनेता विराज प्रमुख भूमिकामा देखिनेछन् । सिनेमालाई विराज आफैंले निर्देशन गर्नेछन् ।

सन् २०२४ मा रिलिज हुने सिनेमामा विराजले नेपाली सिनेमा इतिहासकै उच्च स्तरीय एक्सन पस्किने तयारी गरेका छन् । उनले यसलाईअन्तर्रराष्ट्रिय स्तरमा लैजाने गरी तयारी गरिरहेका छन् । नेपाली सिनेमामा एक्सन भूमिकाहरुबाटै सुपरस्टार बनेका विराज पछिल्लोसमय भोजपुरी सिनेमामा व्यस्त छन् । उनी भोजपुरी सिनेमाका ‘ए’ लिस्टर स्टार हुन् ।

‘१२ गाउँ’ सिनेमा विराजको होमप्रोडकसन कम्पनी विराज भट्ट फिल्म प्रोडक्सन कम्पनीको ब्यानरमा तयार हुनेछ ।