चौतर्फी विरोधपछि सेन्सर पास भयो ‘रङ्गेली’

चौतर्फी विरोधपछि सेन्सर पास भयो ‘रङ्गेली’

द सिनेमा टाइम्स
112
Shares

द सिनेमा टाइम्स, काठमाडौं – केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले सिनेमा ‘रङ्गेली’को शीर्षकमा आपत्ति जनाउँदै प्रमाणपत्र दिन अस्वीकार गरेको थियो । पूर्वको रङ्गेली शहरको नाममा सिनेमा निर्माणको र त्यहीँ छायांकन भएकाले स्थानिय निकायको स्वीकृति पत्र ल्याएपछि मात्र प्रदर्शनको अनुमति (प्रमाणपत्र) दिने बोर्डको अडान थियो ।

तर, यो विषयमा चौतर्फी विरोध भएपछि सेन्सर बोर्डले सेन्सर पास गर्दै प्रदर्शन अनुमती दिएको हो । आइतबार बिहान बोर्डले नै निर्मातालाई बोलाएर प्रमाणपत्र प्रदान गरेको छ । निर्देशक अर्जुन सुवेदीले स्थानीय निकायको स्वीकृति पत्र बिनै प्रमाणपत्र पाएको जानकारी दिए ।

सिनेमाले पीजी सर्टिफिकेट (प्यारेन्टल गाइडेन्स) प्राप्त गरेको छ । अर्थात् सिनेमालाई १६ वर्षभन्दा मुनिका दर्शकले अभिभावकको साथमा हेर्नुपर्नेछ । बोर्डले सिनेमाको नामका कारण प्रमाणपत्र दिन अस्वीकार गरेपछि सिनेमाकर्मीहरुले सामाजिक सञ्जालमार्फत् बोर्डको विरोध गरेका थिए ।

अभिनेता दीपकराज गिरीले सेन्सर बोर्डलाई ‘सेन्सलेस’ भन्दै कटाक्ष गरेका थिए भने निर्देशक दीपेन्द्र के. खनालले बोर्डलाई ‘श्रद्धाञ्जली’ समेत दिएका थिए । सिनेमाकर्मीहरुको चर्को विरोधपछि सेन्सर बोर्डले ‘रङ्गेली’लाई सहज रुपमै प्रमाणपत्र दिएको हो ।

निर्देशक सुवेदी स्वयंको लेखन रहेको सिनेमामा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा आदिको अभिनय छ । सिनेमाका कार्यकारी निर्माताहरु जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा तथा निर्माताहरु संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने सह-निर्माताहरु युवक कार्की र शिव शङ्कर चौलागाईँ हुन् । सिनेमालाई छायाँकार सुशन प्रजापति खिचेका हुन् ।