‘उजेली’ निर्देशक दीपेन्द्र गौचनको ‘केटी हराएको सूचना’ निर्माण घोषणा

‘उजेली’ निर्देशक दीपेन्द्र गौचनको ‘केटी हराएको सूचना’ निर्माण घोषणा

द सिनेमा टाइम्स
210
Shares

द सिनेमा टाइम्स, काठमाडौं – चर्चित टेलिसिरियल ‘उजेली’का निर्देशक दीपेन्द्र गौचनको लेखन तथा निर्देशनमा सिनेमा ‘केटी हराएको सूचना’ निर्माण हुने भएको छ । निर्देशक गौचनले करिब तीन दशक अगाडि बालविवाहको विषयमा टेलिसिरियल ‘उजेली’ निर्देशन गरेका थिए ।

निर्देशक गौचन स्थायी रुपमा क्याम्बोडियनमा बसोबास गरिरहेका छन् । उनले केही क्याम्बोडियन सिनेमाको निर्देशन तथा निर्माण पनि गरेका छन् । सिनेमा ‘केटी हराएको सूचना’ महिला प्रधान हुने संकेत नामबाट मिलेको छ ।

यो सिनेमाको सोमबार स्क्रिप्ट पूजा गर्दै मुख्य कलाकारको बारेमा जानकारी गराइयो । सिनेमामा अभिनेता नाजिर हुसेन र अभिनेत्री सृष्टि श्रेष्ठको जोडी बाँधिने भएको छ । उनीहरुले पहिलोपटक एकसाथ काम गर्न लागेका हुन् । दुवै सिनेमालाई लिएर उत्साहित देखिएका छन् ।

ट्राइसिटी पिक्चर्सको ब्यानरमा निर्माण हुन लागेको सिनेमाको निर्माता नकिम उद्दिम हुन् । नेपालकै सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सका सञ्चालक उद्दिनले यसअघि उनले ‘कागबेनी’, ‘सानो संसार’, ‘सुन्तली’ र ‘द म्यान फ्रम काठमाडौं’को निर्माण गरिसकेका छन् ।

उद्दिन ५ वर्षपछि सिनेमा निर्माणमा फर्किएका हुन् । सिनेमाको आगामी बिहीबारदेखि छायांकन सुरु हुँदैछ । अम्बर महर्जनले खिच्ने सिनेमालाई काठमाडौं र जनकपुरमा छायांकन गरिनेछ ।