अमेरिकामा निर्देशक लामिछानेले गरे पुनर्विवाह

अमेरिकामा निर्देशक लामिछानेले गरे पुनर्विवाह

द सिनेमा टाइम्स
203
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक गोपालचन्द्र लामिछानेले ‘लम्फु’ र ‘बोक्सी’ जस्ता सिनेमामार्फत समाजलाई सन्देश दिने प्रयत्न गरेका थिए । यो पटक उनी रिलमा होइन, रियलमै उनी सन्देशकर्ताको रुपमा प्रस्तुत भएका हुन् ।

लामिछानेले पत्नी गीतासँग २५ औं वैवाहिक वर्षगाँठको अवसरमा पुनर्विवाह गरेका छन् । अमेरिकाको मेरिल्याण्ड राज्यस्थित बाल्टिमोरको हिन्दूबौद्ध मन्दिरमा उनले शनिबार विवाह गरेर सामाजिक सन्देश दिए ।

परिवार विघटन र सम्बन्ध विच्छेदजस्ता घटना बढिरहेको बेला लामिछानेको पुनर्विवाहले सकारात्मक सन्देश प्रवाह गर्न खोजेको विवाहमा सहभागि बताउँछन् । सिनेमाकर्मी सुमन दाहालले भने ‘१८ वर्ष नपुग्दै अभिभावकको साथ छाड्ने अमेरिकी समाजमा लामिछानेको पुनर्विवाहले सकारात्मक सन्देश दिएको छ ।’

बाबुआमाको पुनर्विवाह छोरी मोनिका र छोरा मौलिकले गराइदिएका हुन् । ‘यसले अभिभावक र सन्तानबीचको सम्बन्ध संस्कारमा आधारित हुनुपर्छ भन्ने दर्शाउँछ’ दाहाल भन्छन्, ‘अमेरिकी डायस्पोरालाई समेत यसले सकारात्मक सन्देश दिएको छ । समाज रुपान्तरणतर्फको यो एउटा यात्रा हो ।’

मेरिल्याण्ड राज्यका सांसद ह्यारी भण्डारी लगायत कलाकारको लामिछाने दम्पतीको पुनर्विवाहमा बाक्लो उपस्थिती थियो । कलाकार प्रेमराजा महत, राजबल्लभ कोइराला, ऋचा घिमिरे, उषा पौडेल, अरुणिमा लम्साल, भावु लम्साल, राहुल केसी लक्ष्मण पौडेल, प्रवेश उप्रेती, उद्धव भट्टराई, शंकर घिमिरे, बाबुराम ढकाल, दिनेश कार्की लगायतले शुभकामना दिए ।

निर्देशक लामिछाने यसअघि चलचित्र निर्देशक समाजको सदस्य तथा सह-कोषाध्यक्ष हुँदै महासचिव समेत रहिसकेका छन् । उनी अन्तर्राष्ट्रिय पर्वत समाजका सल्लाहकार, इनासका प्रवक्ता र पर्वत समाज अमेरिकाका सल्लाहकार हुन् ।

गोपालले लेखेका धेरै नाटकमा गीताले समेत अभिनय गरेकी छन् । कतिपय नाटकमा उनीहरुले एकसाथ अभिनय समेत गरेका थिए । विवाहपछि आफूलाई कलाक्षेत्रमा समर्पित हुन पत्नी गीताले दिएको योगदानको गोपाल मुक्तकण्ठले प्रशंसा गर्छन् । लामिछानेले सन् २०१२ मा रिलिज भएको सिनेमा ‘किन लाग्छ माया’बाट निर्देशन डेव्यु गरेका थिए ।