‘रङ्गेली’लाई रङ्गेली नगरपालिका प्रमुख दिलीप कुमारले दिए सफलताको शुभकामना

‘रङ्गेली’लाई रङ्गेली नगरपालिका प्रमुख दिलीप कुमारले दिए सफलताको शुभकामना

द सिनेमा टाइम्स
91
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नामका कारण समस्या पर्ने भन्दै सेन्सर बोर्डले अड्को थापेको सिनेमा ‘रङ्गेली’लाई मोरङको रङ्गेली नगरपालिकाका प्रमुख दिलीप कुमार अग्रवाल (बगडिया)ले सफलताको शुभकामना दिएका छन् ।

फेसबुकमा भिडियो पोस्ट गर्दै उनले रङ्गेली नगरपालिका नामबाट सिनेमा बनेकोमा खुसी व्यक्त गरेका हुन् । भिडियो शुभकामनामा उनले ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक दृष्टिकोणबाट अत्यन्तै महत्त्वपूर्ण तथा प्रचुर सम्भावना रहेको नेपाली सिनेमा ‘रङ्गेली’को भव्य सफलताको कामना गरेका छन् ।

सिनेमा मार्फत रङ्गेलीलाई चिनाउने काम गरेकोमा निर्माण टिमलाई धन्यवाद व्यक्त गरेका छन् । केही दिन पहिले सोही नगरपालिकाको सहमति पत्र चाहिने भन्दै केन्द्रीय सिनेमा जाँच समिति (सेन्सर) बोर्डले प्रमाणपत्र नदिएको खबर मिडियामा सार्वजनिक भएपछि व्यापक विरोध भएको थियो ।

विरोधपछि बोर्डले आइतबार यो सिनेमालाई पिजी प्रमाणपत्र प्रदान गरेको थियो । अर्जुन सुवेदी ‘रङ्गेली’का लेखक तथा निर्देशक हुन् । सिनेमामा दयाहाङको साथमा मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका छ ।

यस सिनेमाका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ । सिनेमाका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् ।

सिनेमामा संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठले निर्माण गरेका हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता रहेको सिनेमालाई सुशन प्रजापतिले खिचेका हुन् ।