‘मेयर’को छायांकनमा जोडिइन ऋचा शर्मा

‘मेयर’को छायांकनमा जोडिइन ऋचा शर्मा

द सिनेमा टाइम्स
91
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री ऋचा शर्माले दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘मेयर’को छायांकनमा जोडिएकी छन् । मंगलबार निर्माण टिमले एक तस्वीर सार्वजनिक गर्दै ऋचाले सिनेमाको छायांकन सुरु गरेको जानकारी दिइएको हो ।

ऋचाले दशैंअघि निर्देशक दीपक रौनियारको सिनेमा ‘राजागञ्ज’को छायांकन पूरा गरेकी थिइन् । त्यसपछि निर्देशक रामबाबु गुरुङको सिनेमा ‘डिग्री माइला’मा काम गरेकी उनले ‘मेयर’को छायांकन सुरु गरेकी हुन् । सिनेमामा उनको भूमिकाबारे खुलाइएको छैन ।

छायांकन सेटबाट प्राप्त तस्वीरमा भने ऋचालाई कालो रंगको कुर्था-सुरुवालमा देख्न सकिन्छ । जसले उनी स्थानीय युवतीको भूमिकामा देखिन लागेको बुझ्न सकिन्छ । पहिलोपटक ऋचाले निर्देशक खनालसँग सहकार्य गरेकी हुन् । ‘मेयर’को मुख्य अभिनेत्रीमा वर्षा राउत छिन् । उनी अभिनेता खगेन्द्र लामिछानेको श्रीमतीको भूमिकामा देखिँदैछिन् ।

सर्लाहीस्थित बागमती नगरपालिकाका मेयर भरत कुमार थापाको जीवन संघर्षमा आधारित रहेको ‘मेयर’मा खगेन्द्रले मेयर थापाको भूमिका निर्वाह गरेका छन् । सिनेमामा हरिहर शर्मा, अनुप बराल, प्रकाश घिमिरे, रमेश बुढाथोकी, रवीन्द्र झा, दिव्यदेव, आशान्त शर्मा, सञ्जोग रसाइली लगायतको पनि अभिनय रहनेछ ।

एक हप्तादेखि सर्लाहीको बागमतीमा सिनेमाको छायांकन भइरहेको छ । यो सिनेमाबाट मेयर थापाकी छोरी अर्विशा थापाले डेब्यू गर्दैछिन् । निर्देशक खनालकी छोरी श्रृष्टिमाँ खनाल र शर्मिला पाण्डे निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता भने निर्देशक खनाल स्वयं हुन् ।

पटकथा प्रडक्शनको निर्माण रहेको सिनेमामा महेश दवाडीको पटकथा लेखन छ । सिनेमालाई कृष्ण बहादुर थापा छायांकन गरिरहेका छन् ।