‘काँडेतार’ प्रिमियर : नेतादेखि सेलीब्रेटीसम्म पुगे सिनेमा हेर्न

‘काँडेतार’ प्रिमियर : नेतादेखि सेलीब्रेटीसम्म पुगे सिनेमा हेर्न

द सिनेमा टाइम्स
70
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मंगलबार बेलुका काठमाडौंमा नवल खड्का निर्देशित सिनेमा ‘काँडेतार’को प्रिमियर गरिएको छ । फागुन २५ गते शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको सिनेमाको प्रिमियर शो हेर्न नेतादेखि सेलिब्रेटीसम्म हल पुगेका थिए ।

पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वमन्त्री सीपी मैनाली लगायत ‘कास्ट एण्ड क्रिउ’सहित प्रिमियरमा पुगेका थिए । सिनेमाले नेपालको अन्तर्राष्ट्रिय सीमा ब्यवस्थित गर्नुपर्ने र राष्ट्रवादी शक्ति एकजुट हुनुपर्ने कथा पेश गर्छ । सिनेमा हेरेपछि नेता तथा अतिथिले सिनेमाको सन्देशको राम्रो रहेको भन्दै प्रसंशा गरेका हुन् ।

पूर्वप्रधानमन्त्री खनालले आफू प्रधानमन्त्री हुँदा सीमा ब्यवस्थित गर्न खोजेपनि पदबाट हट्नुपरेको सम्झिए । सिनेमाले वास्तविक कथा उठान गरेको र प्रदर्शनका लागि सरकारले सहयोग गर्नुपर्ने बताए । उनले यो सिनेमा भारतविरोधी नभएको उल्लेख गरे ।

सिनेमालाई नेपालपक्षीय रहेको बताउँदै नेता खनालले नेपाल र भारतबीचको सम्बन्ध सुधारमा यो सिनेमाले भूमिका खेल्ने बताए । भारतका आपराधिक गतिविधिलाई सिनेमामा चित्रण गरिएकाले सिनेमामा भारतले आपत्ति जनाउन नमिल्ने उनको दाबी छ ।

निर्देशक खड्काले पनि यो सिनेमा भारतविरोधी नभएको बताए । ‘यो सिनेमालाई कतिपयले भारतविरोधी सिनेमाको रुपमा बुझेका छन्, यो गलत कुरा हो’ उनले भने । सीमाविद् बुद्धिनारायण श्रेष्ठले जंगे पिल्लरको सुरक्षाका लागि सीमामा काँडेतार लगाउनुपर्ने आवश्यकतालाई सिनेमाले पुष्टि गर्ने बताए ।

सिनेमाले नेपालसँग सीमा जोडिएका क्षेत्रमा भारतीय पक्षले गरेको अत्याचार, ज्यादती र सीमा अतिक्रमणको कथा प्रस्तुत पेश गर्छ । निर्देशक नवलको शीर्ष भूमिका रहेको सिनेमामा गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, संजय खतिवडा, राजेन्द्र भगत लगायतको अभिनय छ ।

सामना फिल्म्स प्रालिको ब्यानरमा बनेको सिनेमामा लेखन शिवम् अधिकारी र निर्देशक खड्काको छ । मणि थापा र दीपक शर्माको संगीत रहेको सिनेमाको छायांकन सौरभ लामाले गरेका हुन् । माकिको राई, नादिया खड्का, सनया खड्का र अञ्जु केसीको निर्माता रहेको सिनेमाकी कार्यकारी निर्मातामा सत्यकला राई छन् ।