प्रिमियर शोमा रुचाइयो दयाहाङ र मिरुना अभिनित ‘रङ्गेली’

प्रिमियर शोमा रुचाइयो दयाहाङ र मिरुना अभिनित ‘रङ्गेली’

द सिनेमा टाइम्स
154
Shares

द सिनेमा टाइम्स, काठमाडौं – भोली शुक्रबार अर्थात् फागुन २५ गते महाशिवरात्रीको अवसरमा प्रदर्शनमा आउने सिनेमा ‘रङ्गेली’को बुधबार साँझ काठमाडौंमा प्रिमियर राखिएको थियो । सिनेमाले प्रिमियरमा सुखद् प्रतिक्रिया प्राप्त गरेको छ ।

निर्देशक अर्जुन सुवेदीको कामको प्रशंसा हुँदा छायांकन पक्ष र कलाकारहरुको अभिनय पनि रुचाइएको थियो । केहीले भने निर्देशक सुवेदीलाई ‘फर्स्ट हाफ’ छोट्याउन सुझाव दिए । यो प्रतिक्रियालाई आफूले सकारात्मक रुपमा लिएको अर्जुनले बताए ।

प्रिमियरमा समग्रमा राम्रो प्रतिक्रिया मिलेकोमा उनले खुसी व्यक्त गरे । ‘ट्विस्ट एन्ड टर्न’ बढी रुचाइएको निर्देशक सुवेदीले बताए । ‘रङ्गेली’मा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर मुख्य भूमिकामा छन् । तर, दुवै प्रचारमा हिँड्न पाएका थिएनन् । अर्को सिनेमा ‘घरज्वाइँ’को छायांकनले गर्दा उनीहरु रुकुममा थिए ।

‘रङ्गेली’को प्रिमियरकै लागि भनेर रातारात रुकुमबाट काठमाडौं आएका उनीहरु सिनेमा हेरेपछि सन्तुष्ट र खुसी देखिए । प्राविधिक कारणले प्रिमियरमा सिनेमा ढिलो हुँदा भने दुवै निराश देखिन्थे । दयाहाङलाई सिनेमा हेरेपछि लामो भयो कि भन्ने महसुस भएको छ । किनकि, फिल्म २ घण्टा ५५ मिनेट लामो छ । तर, काट्ने ठाउँ पनि उनले देखेका छैनन् ।

‘हामीलाई लागेको चाहिँ लेन्थ लामो होकी जस्तो लाग्यो । तर, सिनेमा हेर्दा के चाहिँ फ्याक्ने भन्ने लाग्छ । लेन्थ पनि समस्या हो जस्तो लाग्दैन । व्यक्तिगत रुपमा मलाई सिनेमा हेर्दा आनन्द महसुस भयो,’ उनले भने । दयाहाङले सिनेमामा आफूले निवार्ह गरेको ग्याङस्टर चरित्र चुनौतीपूर्ण रहेको पनि बताए ।

‘मेरो लागि यो चरित्र चुनौती र अवसर दुवै थियो । म अवसरभन्दा बढी चुनौती मोल्ने कोसिस गर्छु,’ उनले प्रिमियरमा पत्रकारसँग भने, ‘मलाई के लाग्छ भने सिनेमामा म अरु चरित्रहरु सँगसँगै हराउँ तर पनि दर्शकले खोजिरहुन् । यसमा मैले त्यो कोसिस गरेको थिएँ । आफ्नो चरित्र हेर्दा मलाई रमाइलै महसुस भयो ।’ दयाहाङले सिनेमा हेर्दा दर्शक नपछुताउने बताए ।

मिरुना भने सिनेमामा थारु युवतीको भूमिकामा छिन् । उनलाई आफ्नो चरित्र गहिराईमा आएको छ भन्ने लाग्छ । आफूले गर्दै आएको कामभन्दा केही फरक गर्न पाएकोमा पनि उनले खुसी व्यक्त गरिन् । स्क्रिप्टमा मिहीन ढंगले काम गरिएकाले दर्शकलाई सिनेमा लामो नलाग्ने पनि उनको विश्वास छ ।

‘रङ्गेली’मा अर्जुन सुवेदीले लेखन तथा निर्देशन रहेको छ । सिनेमामा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको मुख्ख भूमिका रहेको छ । सिनेमाका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको संगीत रहेको छ ।

सिनेमाका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शंकर चौलागाईं सह(निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायांकार सुशन प्रजापति हुन् । सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस्ले वितरण गर्दैछ ।