चलचित्र विकास बोर्डद्धारा ७ महिला सिनेमाकर्मी सम्मानित

चलचित्र विकास बोर्डद्धारा ७ महिला सिनेमाकर्मी सम्मानित

द सिनेमा टाइम्स
98
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाली सिनेमामा योगदान पुर्‍याउने सात महिला सिनेमाकर्मीलाई अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा चलचित्र विकास बोर्डले सम्मान गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बिहीबार उक्त सम्मान प्रदान गरेकी हुन् ।

अभिनेत्रीहरु केकी अधिकारी, प्रियंका कार्की, सरिता लामिछाने, निर्देशक रेनशा बान्तवा राई राणा, प्राविधिक ऋतु राना, एक्सन–कोरियोग्राफर किरण दाहाल र कला पत्रकार शारदा थापालाई सम्मान गरिएको हो । सम्मानसहित नगद २५ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरियो ।

राष्ट्रपति कार्यालय शीतल निवासमा सपथ लिएलगत्तै महिला सिनेमाकर्मीलाई सम्मान गर्न मन्त्री शर्मा बोर्डको चावहिलस्थित कार्यालयमा पुगेकी थिइन् । उनले सिनेमाकर्ममा निरन्तर क्रियाशील महिलालाई सम्मान गर्न पाउँदा खुसी लागेको बताइन् ।

कुनै समय अभिनय गर्न घरबाट निस्कन कठिन हुने महिला अहिले सिनेमाका विभिन्न विधामा सक्रिय हुनु गौरवको कुरा रहेको मन्त्री शर्माको भनाइ थियो । ‘अहिले छलफलमा रहेको सिनेमा ऐनले महिलालाई विकास बोर्ड, सिनेमा जाँच समिति लगायतका निकायमा बलियो उपस्थिति गराउने छ । त्यसले महिलालाई नेतृत्वदायी भूमिकाका लागि अवश्य तयार गर्नेछ,’ उनले भनिन् ।

निर्माण तयारीमा रहेको ऐनले ती संस्थामा महिलाको सहभागिता अनिवार्य गराउने मन्त्री शर्माको भनाइ थियो । अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा सिनेमाकर्मीलाई प्रोत्साहन गर्न अन्य विविध सिर्जनात्मक क्रियाकलापलाई बोर्डले निरन्तरता दिने आशा पनि उनले व्यक्त गरिन् ।

उक्त अवसरमा ‘सिनेमामा नारी’ विषयमा छलफल समेत गरियो । ‘महिला सशक्तीकरणमा महिला सिनेमाकर्मीको भूमिका ः हिजोआज र भोलि’ विषयमा विमर्श गरियो । उक्त सत्रमा गौरी मल्ल, झरना थापा, केकी अधिकारी र निर्देशक रक्षा सिंह राणाले छलफल गरेका थिए ।

अर्को संवादको विषय ‘नेपाली सिनेमाको सुरुवाती अवस्था, सिनेमा क्षेत्रमा महिलाको समस्या र चुनौती विषय’ छलफल गरियो । यो सत्रमा अभिनेत्री भुवन चन्द, करिश्मा मानन्धर र शिल्पा मास्केले छलफल गरेका थिए ।

कार्यक्रममा मन्त्रालयका सचिव रामहरि सुवेदी, चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसी, विकास बोर्डका सदस्यहरू रवि अधिकारी, राजु केसी, केन्द्रीय चलचित्र जाँच समितिका सदस्य ऋषिराज आचार्य लगायत सहभागी थिए ।