शुक्रबारबाट तीन सिनेमा ‘रङ्गेली’, ‘उपहार’ र ‘काँडेतार’ प्रदर्शनमा

शुक्रबारबाट तीन सिनेमा ‘रङ्गेली’, ‘उपहार’ र ‘काँडेतार’ प्रदर्शनमा

द सिनेमा टाइम्स
70
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आज शुक्रबारबाट एकसाथ तीन सिनेमा ‘रङ्गेली’, ‘उपहार’ र ‘काँडेतार’ प्रदर्शनमा आएका छन् । महाशिवरात्री तथा नारी दिवसको अवसर पारेर यी तीन सिनेमा प्रदर्शनमा आएका हुन् । तीनवटै सिनेमाको विषयवस्तु फरक भएकाले दर्शकको लक्षित वर्ग पनि फरक छ ।

एकसाथ प्रदर्शनको असर तीनै सिनेमाले शो बाँडफाँडमा बेहोर्नुपरेको छ । मल्टीप्लेक्सहरुले न्यून शो दिएका छन् । त्यसमाथि शुक्रबारबाट बलिउड सिनेमा ‘शैतान’ र हलिउड सिनेमा ‘कुङ्ग फु पाण्डा ४’ पनि प्रदर्शनमा आएकाले तीनवटा नेपाली सिनेमालाई बक्सअफिस कलेक्सनमा ठूलो चुनौती देखिएको छ ।

ग्याङस्टर जनरामा निर्माण भएको ‘रङ्गेली’लाई अर्जुन सुवेदीले लेखन तथा निर्देशन गरेका हुन् । सिनेमामा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा लगायतको अभिनय छ । सुशन प्रजापतिको छायांकन रहेको सिनेमाका कार्यकारी निर्माताहरु जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरुमा भने संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ छन् ।

ज्ञानेन्द्र देउजा निर्देशित सिनेमा ‘उपहार’मा रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल, तेज गिरी, समर्पण जंग कार्की, शिशिर राणा, सुष्मा कार्की, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुसाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त, सरिता राजोपाध्याय लगायतको अभिनय छ । यो सिनेमाबाट रेखा ५ वर्षपछि निर्माण र अभिनयमा फर्किएकी हुन् । सिनेमाको कार्यकारी निर्मातामा बलराम शाही ठकुरी तथा निर्मातामा सुलभ प्रतिक र समिक्षा देउजा छन् ।

यो शुक्रबारबाट प्रदर्शनमा आएको ‘काँडेतार’लाई नवल खड्काले निर्देशन गरेका हुन् । उनी स्वयंको मुख्य भूमिका रहेको सिनेमामा मुरलीधर, प्रेम सुब्बा, गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार आदिको पनि अभिनय छ । नेपाल र भारतको खुल्ला सीमानामा काँडेतार लगाउनुपर्छ भन्ने विषयमा आधारित यो सिनेमालाई सौरभ लामाले खिचेका हुन् ।