जेष्ठ १० मा ‘दान्भी’ रिलिज घोषणा

जेष्ठ १० मा ‘दान्भी’ रिलिज घोषणा

द सिनेमा टाइम्स
112
Shares

द सिनेमा टाइम्स, काठमाडौं – महाशिवरात्री तथा अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर पूजा शर्माको मुख्य भुमिका रहेको सिनेमा ‘दान्भी’को प्रदर्शन मिति घोषणा गरिएको छ । रुपेश तामाङको निर्देशनमा निर्माण भएको सिनेमा आगामी वर्षको जेठ १० गतेबाट नेपालभर रिलिज हुनेछ ।

जेठ १० गते बुद्ध जयन्तीको सार्वजनिक बिदा समेत भएकाले सिनेमा बिहिबार नै रिलिज हुनेछ । एक्सनप्रधान सिनेमाको यसअघि सार्वजनिक टिजरको चर्चा पनि राम्रै भएको थियो । सिनेमाको छायांकन नेपाल र भारतमा गरिएको छ ।

देव मगर, अनुप गडाल निर्माता रहेको सिनेमामा पवन राना मगर कार्यकारी निर्माताको रुपमा छन् । सिनेमाका सह-निर्माता कमला लिम्बु, पन्चबहादुर तामाङ र आदर्श पौडेल हुन् । यो सिनेमामा पूजाको जोडी कुन्साङ बोमजमसँग बाँधिएको छ । सिनेमामा किरण श्रेष्ठको पनि मुख्य भूमिका छ ।

लभस्टोरी सिनेमामा रुचाइएकी अभिनेत्री पूजा शर्माले पहिलो पटक ‘दान्भी’ मार्फत आफूलाई एक्सन अवतारमा प्रस्तुत गरेकी हुन् । निर्माणपक्षले वितरकको सल्लाहमा सिनेमाको प्रदर्शन मिति घोषणा गरिएको बताएको हो ।

सिनेमामा श्री श्रेष्ठको द्वन्द्व निर्देशन छ । संजोग कुँवर रानाको पटकथा तथा संवाद लेखन, बन्दे प्रसादको सम्पादन, सत्यम राना र श्रीकृष्ण श्रेष्ठको भीएफक्स तथा गीतहरुमा अर्जुन पोखरेल, नरेश योगी र केदारराज नेपालीको संगीत सिनेमामा रहेको छ ।