मिलन चाम्स निर्देशित ‘अञ्जिला’को फर्स्टलुक पोस्टर सार्वजनिक

मिलन चाम्स निर्देशित ‘अञ्जिला’को फर्स्टलुक पोस्टर सार्वजनिक

द सिनेमा टाइम्स
147
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मिलन चाम्स निर्देशित सिनेमा ‘अञ्जिला’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । महाशिवरात्रि र नारी दिवसको अवसर पारेर शुक्रबार सार्वजनिक एक पोस्टरमा अभिनेता दयाहाङ राई र महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक अञ्जिला तुम्बापो सुब्बालाई प्रस्तुत गरिएको छ ।

सार्वजनिक पोस्टरमा दयाहाङ ढाकाटोपी लगाएर मुस्कुराएको भावमा देखिएका छन् भने अञ्जिलाको फुटबल मोह दर्शाइएको छ । ‘अञ्जिला’ गोलरक्षक सुब्बाको जीवनबाट प्रभावित भएर बनेको हो । यसैले उनले आफ्नो भूमिका आफैंले निभाएकी छन् ।

सिनेमामा मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, प्रेम कुमार श्रेष्ठ, बुद्धि तामाङ, विजय बराल, हरि खड्का, मञ्जु श्रेष्ठ, वेदना राईको पनि अभिनय छ । गोलरक्षक अञ्जिलाकै जन्मथलो इलामको आइतबारेसहित झापा र काठमाडौँमा सिनेमाको छायांकन भएको हो । सुदीप बरालको छायांकन रहेको सिनेमाका सम्पादक मिलन श्रेष्ठ हुन् ।

निर्देशक चाम्सले आफ्नो करिअरमा यो सिनेमाले फरक छाप छोड्ने विश्वास व्यक्त गरेका छन् । सफल खेलाडी बन्नुअघि अञ्जिलाले भोगेका दुःख र इच्छाशक्ति भएदेखि केही कुरा असम्भव हुँदैन भन्ने सन्देश सिनेमाले दिने उनले बताए । निर्देशक चाम्सले यो सिनेमा ठ्याक्कै अञ्जिलाको बायोपिक भने नभएको बताए । ७५ प्रतिशत अञ्जिलाकै जीवनी भए पनि बायोपिक नभएको उनको भनाई छ ।

मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता प्रेम कुमार श्रेष्ठ हुन् भने सह-निर्मातामा विनोद अग्रवाल र राजेश बगडिया छन् । विनोद सुवेदी खत्री सिनेमाका निर्माण नियन्त्रक हुन् । निर्माता श्रेष्ठले अञ्जिलाको कष्टकर बाल्य जीवनदेखि सफल खेल जीवनसम्मको कथालाई सिनेमामा प्रस्तुत गरिएको बताए ।